६ जेष्ठ २०८१, आईतवार | Mon May 20 2024

‘पुजार सार्की’मा विभेदको कथा : निर्देशक राउत


२६ वैशाख, काठमाडौँ । चलचित्रले पार्ने प्रभाव अन्य माध्यमको तुलनामा बलियो मानिन्छ । यसले आम मानिसमा एककिसिमको सन्देश र भाष्य निर्माण गर्छ । त्यसैले चलचित्रमार्फत विभेद र वर्गीय सङ्घर्षको कथा देखाउने उद्देश्यले निर्देशक दिनेश राउतको निर्देशनमा बनेको चलचित्र ‘पुजार सार्की’ प्रदर्शनको तयारीमा छ ।

‘पुजार सार्की’ को विषयमा जानकारी दिन आयोजित पत्रकार भेटघाटमा निर्देशक राउतले चलचित्रकर्मीको दायित्व बोध गरेर सामाजिक विषयवस्तु चलचित्र मार्फत ठूलो पर्दामा ल्याउन लागेको बताए ।

“हामीले जातीय विभेद र यसले समाजमा पारिरहेको प्रभावलाई भन्नुपर्छ । उक्त समुदायले धेरै बोलिसकेका छन्, अब हामीले चलचिलत्रको माध्यमबाट विभेद अन्त्यमा सघाउनुपर्छ”, निर्देशक राउतले भने, “व्यवस्था परिवर्तन भयो तर अवस्था उस्तै छ । यो विषयमा हामीले ध्यान दिनु जरुरी छ, मैले यही कथालाई चलचित्रमा ल्याएको हुँ ।”

सुरुआती समयमा प्रेम कथानक चलचित्र निर्देशन गर्नुभएका निर्देशक राउतले ‘प्रसाद’, ‘प्रकाश’ जस्ता सामाजिक विषयमा चलचित्र निर्देशन गरिसकेको छ । ‘प्रसाद’ मा जातीय विभेद् र अन्तरजातीय विवाहको मुद्दालाई उठान गरेको थियो । उनले ‘प्रकाश’ मा वर्गीय सङ्घर्षलाई प्रस्तुत गरे । यसपटक मिश्रित समाजमार्फत अघिल्ला दुवै चलचित्रको मुद्दालाई उठाएको उनको भनाइ छ ।

“समय अनुसार पात्र र परिवेश फरक हुन्छ । यसपटक हामीले प्रजातन्त्र आउनु अगाडि र पछिको समयलाई चलचित्रमा प्रस्तुत गरेका छौँ । मिश्रित समाज र त्यसमा सङ्घर्ष गरिरहेका समुदायको कथा भन्ने कोसिस गरिएको हो । तर, यो काल्पनिक कथा नभइ समाजमा घटेको घटनामा आधारित छ”, निर्देशक राउतले भने ।

‘पुजार सार्की’ चलचित्रका लेखक विकास सुवेदीले बाल्यकालमा देखेको आफ्नै गाउँको घटनाक्रमलाई कथाको रुपमा लेखेको बताए । उनले भने, “पछिल्लो समय हामीले तयार गरिरहेको चलचित्रकै सिलसिलामा नयाँ चलचित्रमा अब यो कथालाई भन्नुपर्छ भन्ने लाग्यो । किनकि काठमाडौँमा बसेर नेपाल बुझ्न सकिँदैन, ग्रामीण संसार र जनजीवन अझैँ सङ्घर्षशील छ ।”

‘पुजार सार्की’मा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह लगायतका अभिनेताले अभिनय गरेकाे छ । अभिनेता सिग्देलले चलचित्र विषय प्रधानसँगै मनोरञ्जनात्मक पनि रहेको बताए ।

“यसमा हामीले विषय उठाएका छौँ । तर, यो चलचित्र भएकोले यसलाई कलाको शैलीमा तयार गरिएको छ । मैले निभाएको चरित्रले उसले देखेको समाजलाई आफ्नो गाउँमा देख्न चाहन्छ । त्यसका लागि त्यो पत्रा सङघर्षशील छ”, अभिनेता सिग्देलले भने ।

ग्रामीण युवाको भूमिकामा देखिएका अभिनेता खड्काले आफ्नो परिचय आगामी दिनमा ‘मैत बहादुर’ बन्ने विश्वास व्यक्त गरे । “मैले एउटा फरक जीवन बाँच्ने कोसिस गरेको छु । त्यो जीवनले मलाई त्यो समुदायको समस्यासँग जानकार गरायो”, अभिनेता खड्काले भने “हामीले आफ्नो आँखाले अरुको समस्याले हेर्दा बुझ्न सक्दैनौँ । महसुस गर्न त्यो समुदाय भएर बाँच्नु जरुरी छ ।”

उनले कास्कीको कास्कीकोट गाउँको स्थानीय लवजदेखि रहनसहनलाई आत्मसात गर्न प्रशिक्षण लिएको बताए। उनले भने, “हामीले हरेक भूमिका निर्वाहका लागि उत्तिकै मेहनत गरेका छौँ । तर, नतिजाले मात्र मेहनतको चर्चा हुनेछ ।”

सङ्गीतकार सुभाष भुसालले निर्माण गरेको चलचित्रमा अञ्जना बराइली, परीक्षा लिम्बू, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, शङ्कर आचार्यलगायतको अभिनय हेर्न पाइने छ । चलचित्र बुद्धजयन्तीको अवसर पारेर जेठ १० गतेदेखि प्रदर्शन हुँदैछ ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार १३:४९