५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

व्यवसायिक सफलताको पर्खाइमा ‘खजुरे ब्रो’का महेश


२३ वैशाख, काठमाडौँ। ‘फुच्चे वैज्ञानिक’ बनेर एकसमय नेपालका मूल संचारमाध्यम छाएका महेशलाई अन्त्यमा अभिनयले आफ्नो बनाइ छाड्यो। इन्जिनियरिङको पढाइ छाडी रंगिन दुनियाँमा आएका महेश ‘हल्कारा : द पोस्टम्यान’बाट अमेरिकी फिल्म फेस्टिभल वर्ल्डफेस्ट ह्युस्टनमा उत्कृष्ट अभिनेता घोषित भएपछि उनको चर्चा फराकिलो भयो।

यो प्रतिष्पर्धामा ‘अ प्लेस कल्ड होम’बाट बेन ग्याभिन र बेलायती फिल्म ‘फेरी म्यान’बाट ओलिभिर ली महेशसँग प्रतिष्पर्धामा थिए । यी दुबैलाई पन्छाउँदै उनले बाजी मारे ।

अभिनयका गुरुसमेत रहेका महेश अब व्यवसायिक सफलताको पर्खाइमा छन्। ‘खजुरे ब्रो’को बारेमा गफ्फिदा उनले आफ्नो इच्छा सार्वजनिक गरे। ‘करियरका हिसाबले मास अडियन्समा जानु छ र अलिकति व्यवसायिक सफलता प्राप्त गर्न मन छ, त्यो मलाई आवश्यक छ’, उनले भने।
कामको कुनै कमी छैन महेशलाई, चारपाँच वटा सिनेमा रिलिजका क्रममा छन् थप चारपाँच वटा सिनेमा गर्ने तय भइसकेको छ। उनी व्यस्त छन्। ‘खजुरे ब्रो’को प्रचारको धपेडीका बिच नै एउटा सिनेमाको तयारी गरिरहेका छन्। यही सिनेमाका लागि उनले ४ वटा सिनेमा छाडिदिए।

भन्छन्- कामको हिसाबले मलाई समस्या छैन। छानिछानि गर्नुपर्ने अवस्था अहिले छ। अहिले म अर्को सिनेमाको तयारीमा छु। यो सिनेमाको तयारीका लागि मैले अर्को चार वटा सिनेमा छोड्नुपरेको छ। कामको हिसाबले ठिक छ। क्रिटिक्ली पनि राम्रो एप्रिसिएसन मिलिरहेको छ। अन्तर्राष्ट्रिय अवार्डदेखि यहाँको माहोलमा कामको तारिफ सब मिलिरहेको छ।

‘हल्कारा’बाट क्लासमा चिनिएका महेश अब मासमा जान चाहन्छन्। अभिनेताका हिसाबले उनको मापन ‘हल्कारा’को मानकबाट सुरु हुने उनले बुझेका छन्। ”हल्कारा’ले एउटा क्लास अडियन्समा मेरो एउटा प्रभाव बनाएको छ। एउटा राम्रो एक्टरको इमेज बनाएको छ। मैले गर्ने काममा त्यही अनुसारको आशा राख्नुहुन्छ’, उनले अभिनेताका रुपमा दर्शकको अपेक्षा सम्झिदैं भने।

‘खजुरे ब्रो’मा उनी शीर्ष पात्रको भूमिकामा छन्। सिनेमालाई लिएर उनको आशा राम्रो छ। उनको बुझाइमा यो सिनेमा पर्दामा ‘लार्जर देन लाइफ’ भन्दा पनि ‘रअ’ पात्र र कथा खोज्नेहरुको सिनेमा हो। सिनेमाले यी दर्शकहरुको अपेक्षा पूरा गर्छ। सिनेमाले मनोरञ्जन दिन्छ भन्नेमा उनी ढुक्क छन्। निर्देशकको भिजनमा आफू खरो उत्रने प्रयास गरेको महेश बताउँछन्।

‘अभिनेताले गर्नुपर्ने धर्म अनुसार मैले यसमा गर्नसक्ने चिजहरु गरेको छु। निर्देशकले कस्तो चाहनुभएको छ मबाट, त्यो चिज मैले निर्देशकलाई दिने प्रयास गरेको छु’, उनले भने, ‘अन्तिम कुरा सिनेमा आएपछि थाहा हुन्छ तर निराशचाँहि हुनुपर्दैन। निश्चित रुपमा ‘हल्कारा’ र ‘खजुरे ब्रो’का पात्रहरु फरक प्रकार र भूगोलका पात्रहरु हुन्। मआफू भन्दा पनि भिन्न छन्। त्यो हिसाबले दर्शकलाई नयाँ स्वाद हुन्छ।’

पश्चिम नेपालको गण्डकीका रैथाने महेशलाई पूर्वी नेपालको पात्रमा ढल्न स्वभाविकरुपमा तयारी गर्नुपर्‍यो। स्वयं अभिनयका गुरुहरु भएकाले उनी सो ढलाइका प्रक्रियाहरुसँग जानकार नै थिए। उनले यसका लागि २-३ महिनाको समय लगाएको बताए। उनले चरित्रको अध्ययन गरेर पात्र गरे यध्यपी व्यक्तिगत हिसाबले उनलाई गार्होचाँहि भयो।

‘बाह्यरुपमा हेर्दा शारिरिक हाउभाउ र बोल्ने भाषाको कुरा छ। त्यो सिक्ने नै हो। त्यहाँका लवज, स्ल्यांगहरु केके हो, त्योसँग परिचित नै हुने हो। त्यहीका मान्छेहरुसँग कुराकानी गर्ने । अनि शारिरिक हाउभाउ त त्यो चरित्रलाई अध्ययन गर्दै यसरीयसरी गर्ने भन्दै जोड्दै बनाउने हो’, उनले भने, ‘अर्को छ मनोवैज्ञानिक पक्ष, त्यो कथा बुझेर नै हुन्छ। त्यसका लागि लेखक-निर्देशकसँग बसेर उनीहरुले त्यो पात्रलाई कसरी देखेका छन् त्यसमा छलफल गरेर उनीहरुको दृष्टिकोण बुझेर गर्ने हो। यसमा उसको ब्याकस्टोरी, जीवन यात्रा र जीवन उदेश्यका आधारमा बनाइन्छ।’
उनले सिनेमा पूरा हेर्न पाएका छैनन्। त्यसैले सिनेमामा कस्तो काम गरें भन्ने मूल्यांकन आफूले गरिनसकेको बताए। सिनेमामा कस्तो पात्रका रुपमा छन् त महेश? ‘धरानमा हुर्केको एउटा डानामिक चरित्र छ’, उनले भने।

सुरज सुनुवार निर्देशित सिनेमाले युवा दर्शकलाई तान्ने उनको बुझाइ छ। सिनेमामा उनका अलवा रेयर राई, नीति शाह, नविन मानन्धर आदि प्रमुख भूमिकामा छन्। प्रेम, पैसा र सहकारी ठगीको वरीपरि घुमेको सिनेमाको व्यवसायिक सफलता प्राप्त गर्दै आफूलाई मासमा लैजाओस् भन्ने प्रतिक्षामा महेश रहेका छन्। सिनेमा बैशाख २८ गते रिलिज हुँदैछ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आईतवार १२:२०