२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

‘बुहारी’ सिरियल अब हिमालय टेलिभिजनमा प्रसारण हुने

१८ वैशाख, काठमाडौं । दर्शकको रोजाईमा परेको सिरियल ‘बुहारी’ हिमालय टेलिभिजनमा प्रसारण हुने भएको छ । साथै, यो श्रृंखलाको डिजिटल स्ट्रिमिङ ओएसआरको युट्युव च्यानलमा हुनेछ ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा सिरियलका निर्माताले ओएसआर डिजिटलसँग सम्झौता गरे । सोही कार्यक्रममा हिमालय टिभी र ओएसआर डिजिटलसँग अलग सम्झौता पनि भयो ।

हिमालय टिभीका प्रबन्ध निर्देशक श्याम कँडेल, ओएसआर डिजिटलका प्रमुख ओमप्रकाश अग्रवाल र सिरियलका निर्माता तथा निर्देशक रामचन्द्र बोहराले ती सम्झौताहरुमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार यो सिरियल शुक्रबार राती ९ बजे हिमालय टिभीमा प्रसारण हुनेछ भने सोही समयमा ओएसआरको युट्युव च्यानलमा स्ट्रिमिङ हुनेछ । सिरियलका निर्मातासँग १ वर्षको लागि सम्झौता भएको हो ।

निर्माता तथा निर्देशक बोहराले सिरियलको १७३ सम्मको एपिसोड ‘बुहारी अफिसियल’ युट्युव च्यानलमा रिलिज गर्दै आएका थिए । १७४ औं भागदेखि टिभी र ओएसआरमा आउनेछ । सिरियललाइ पवन भुजेलले छायांकन एवं सम्पादन गर्दै आएका छन्।

‘अहिलेको समयमा दर्शकको रोजाईमा परेका कन्टेन्टलाई देखाउने हाम्रो प्रयासको रुपमा यसलाई लिएका छौं’ हिमालय टिभीका प्रबन्ध निर्देशक कँडेलले भने, ‘अहिलेको समयमा चलेको सिरियललाई टिभीमा देखाउन पाउनु पनि खुशिको कुरा हो ।’

ओएसआरका प्रमुख अग्रवालले पनि स्तरीय कन्टेन्टमा लगानी गर्ने आफ्नो कम्पनीको प्राथमिकता रहेको बताए । अहिले ओएसआरमा जुठे, बुहारी, सीता सिरियल स्ट्रिम भैरहेका छन् ।

हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छि धुर्वे’ र राजु पौडेल ‘राजु मास्टर’ समेत कार्यक्रममा शुभकामना दिन पुगेका थिए। ‘बुहारी’ सिरियलका शीर्ष कलाकार अनिता बैजु, लक्ष्मण विक्रम बस्नेतलगायतले समेत धारणा राखे।

प्रकाशित मिति : April 30, 2024 at 10:31 am