५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

इलाम २ मा एमालेका सुहाङको अग्रता कायमै, पछि परे कांग्रेसका खड्का

१७ वैशाख, फिक्कल (इलाम) । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ ।

हालसम्म फाकफोकथुम, चुलाचुली, माङसेबुङ गाउँपालिका र माई नगरपालिकाको मतगणना सकिएको छ । प्राप्त मतपरिणाम अनुसार कूल ३२ हजार एक सय ९४ मतगणना हुँदा एमाले उम्मेदवार नेम्वाङले १३ हजार ६९ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले आठ हजार तीन सय ८६ मत प्राप्त गरेका छन् ।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले आठ हजार ९८ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले एक हजार सात सय १३ मत प्राप्त गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का जितबहादुर राईले दुई सय ८७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङले दुई सय ८५ मत प्राप्त गरेका छन् ।

कूल छ वटा पालिका रहेको यस निर्वाचन क्षेत्रमा अहिले देउमाई नगरपालिका–१, २ र ३ को मतगणना भइरहेको छ । इलाम नगरपालिकाको गणना गर्न बाँकी छ । कूल एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ मत खसेको थियो ।

प्रकाशित मिति : April 29, 2024 at 2:33 pm