२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग

१६ वैशाख, काठमाडाैं । आफ्नो पहिचानसहित नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिले माग गरेका छन् । निलहिरा समाजले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी भएका उनीहरुले यस्तो माग गरेका हुन् ।
संविधानले स्पष्ट व्यवस्था गरे पनि राज्यले आफूहरुको पहिचान खुल्नेगरी नागरिकता दिन नसकेको भन्दै उनीहरुले नागरिकताका सवालमा आफुहरु विभेद्मा परेको बताएका हुन् । कार्यक्रममा आफ्नो भनाइ राख्नुहुँदै निलहिरा समाजका अधिकृत भक्ति शाहीले आफ्नो पहिचान खुल्नेगरी नागरिकता लिन आफुहरुले धेरै प्रक्रिया पुरा गर्नुपरेको बताए । “आफ्नो पहिचान खुलाउन पनि सर्जरी गर्नुपर्ने, त्यसमा ठूलो रकम लाग्छ, त्यो काम पनि नेपालमा हुँदैन । अनि अस्पतालको प्रमाणित चाहिने, अस्पतालले दिएको प्रमाण लिएर वडा कार्यालयमा सिफारिस लिन जानुपर्ने झन्झट छ,” –उनले भने।
आफुहरुलाई पहिचानसहित जिउन सक्नेगरी वातावरण तयार गर्न माग गर्दै तीन तहकै सरकारले यसमा पहल गर्नुपर्नेमा अधिकृत शाहीले जोड दिए । नेपालको कानुनले समलिङ्गी विवाहलाई कानुनी मान्यता दिए पनि त्यस्तो विवाह अस्थायी दर्ता हुने गरेको भन्दै यसमा पनि संशोधन आवश्यक रहेको उनको भनाइ छ । यता, वीरेन्द्रनगरका जनप्रतिनिधिले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको सन्दर्भमा अहिले पनि बुझाइ कमजोर रहेको भन्दै यसले विभेदलाई प्रश्रय दिएको बताएका छन् ।
विभेद् कम गर्न र उनीहरुको पहिचानसहित खुल्ला रुपमा हिँडडुल गर्न पाउने वातावरण निर्माणका लागि सबै पक्ष सचेत हुन आवश्यक रहेको औँल्याएका छन् । वीरेन्द्रनगर– १ का वडाध्यक्ष दीनेश खत्रीले संविधान र ऐन कानुनमा भएका जटिलतालाई हटाएर सहज वातावरण बनाउनुपर्नेमा जोड दिए ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने भन्दै आगामी वर्षदेखि वडाको बजेटमा उनीहरुलाई समेट्ने प्रतिबद्धता जनाए । वीरेन्द्रनगर–८ नं वडाध्यक्ष टीकाराम शर्माले पनि सबै समुदायलाई समान सहभागिताको परिकल्पना संविधानले गरेको भन्दै यसको कार्यान्वयनमा जोड दिए ।
उनले आफ्नो वडामा पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरु रहेको बताउँदै उनीहरुलाई समेट्न केही कार्यक्रम यो वर्ष पनि राखिएको बताए । आगामी वर्षदेखि यो समुदायको अधिकारका लागि विभिन्न सचेतनाका कार्यक्रम सञ्चालन गरिने उनको प्रतिबद्धता छ । कार्यक्रममा विभिन्न सरोकारवाला व्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : April 28, 2024 at 1:21 pm