१२ पुष २०८१, शुक्रबार | Fri Dec 27 2024

मौरीपालक कृषक र लगानी बढ्दै तर उत्पादन घट्दै

८ वैशाख, म्याग्दी । म्याग्दीका जङ्गलमा विगत तीन वर्ष यता अत्यधिक डढेलो लागेका कारण पुष्परसमा कमी हुँदा मौरीपालक कृषक बढ्दै गए पनि मह उत्पादन भने घट्दै गएको छ । म्याग्दीका ग्रामीण क्षेत्रमा चिउरी, पैँयु, दुधिलो प्रजातिका रुख नासिँदै र गाउँघरतिर तोरीखेती गर्ने चलन हराउँदै गएपछि मौरीलाई चरन क्षेत्रको अभाव र पुष्परसको कमी भएका कारण मह उत्पादन घट्दै गएको कृषकले बताएका छन् ।

जिल्लाको मालिका गाउँपालिका–१ निस्कोटका किसान तिलबहादुर पुनले विगतका वर्षको तुलनामा तीन वर्षयता मह उत्पादन घटेको बताउनुभयो । “गाउँमा मौरीपालन गर्ने कृषकको सङ्ख्या बढे पनि मह उत्पादन भने घटेको छ”, पुनले भन्नुभयो । अत्यधिकरूपमा डढेलो लाग्नु, बाढी, पहिरो, भू–क्षयले क्षति पु¥याउनाका साथै कुकाठका नाममा सामुदायिक वनले चिउरी, पैँयु र दुधिलाका बोट काट्नेक्रम बढेपछि पुष्परसको अभावले गर्दा मह उत्पादनमा कमी आएको उहाँको भनाइ रहेको छ ।

जिल्लाका बेनी नगरपालिकालगायत मङ्गला, धवलागिरि, मालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका बिम, मराङ, ताकम, ज्यामरुककोट, रत्नेचौर, सिम, राखु, पात्लेखेत, अर्मन, बाबियाचौरका गाउँमा व्यावसायिकरूपमा मौरीपालन गरेका कृषकले विगतका वर्षको तुलनामा यस वर्ष पुष्परसमा कमी आएको र मह उत्पादन कमी भएको बताएका हुन् ।

त्यसैगरी मङ्गला गाउँपालिका–५ का मौरीपालक कृषक टीका सापकोटाले तोरी, बुकी, पैँयु, दुधिलोलगायत फूल तथा वनस्पतिमा यस वर्ष रसको मात्रा घटेको बताउनुभयो । सापकोटाले जङ्गलमा भएको आगलागी, वातावरणीय प्रदूषण र फूल फुल्ने समयमा पँैयु, दुधिलो र चिउरीलगायत बोट ढालिएकाले विगतको तुलनामा आधामात्र मह उत्पादन भएको जानकारी दिनुभयो । “मौरी चरेर आइसकेपछि पनि पोटिला नदेखिनु र मह उत्पादनका लागि उपयुक्त मानिएको महिनामा पनि कम मह उत्पादन हुनुको कारण पुष्परसमा कमी आउनु नै हो”, सापकोटाले भन्नुभयो ।

विगत तीन वर्षयता म्याग्दीका जङ्गलमा डढेलो लाग्नेक्रम बढेसँगै मह उत्पादनमा पनि कमी हुँदै गएको किसानको अनुभव रहेको छ । मङ्गला गाउँपालिकाका कृषि प्राविधक जगत् बानियाँले जङ्गलमा अत्यधिकरुपमा डढेलो लाग्नु र त्यसपछि सुक्खा हावा चलेका कारणले पनि पुष्परसमा स्वाभाविकरुपले कमी आएकाले यस्तो समस्या उत्पन्न भएको बताउनुभयो । मौरीको गोलाको सङ्ख्या अत्यधिक बढिरहेको छ । कृषकले भने चरन क्षेत्रमा ध्यान नदिएको र बढ्दो रासायनिक मलको प्रयोगका कारण परागसेचन प्रक्रियामा प्रभाव परेकाले फलफूलजन्य वनस्पतिमा रसको मात्रा कमी आउँदा मह उत्पादन कम भएको कृषि प्राविधिक बानियाँले बताउनुभयो ।

कृषि ज्ञान केन्द्रले मौरीपालक कृषकले मौरीको गोलासँगै चरन क्षेत्रको विस्तारमा ध्यान दिन कृषकलाई सल्लाह दिँदै घार वरिपरि बाँझो जग्गा नराख्न र विशेष गरी पुष्पजन्य बोटबिरुवा लगाउन अनुरोध गरेको छ । जिल्लामा मौरीपालक कृषकको सङ्ख्या बढ्दै गइरहेको छ । जिल्लाका छ स्थानीय तहका दुई सयभन्दा बढी कृषक व्यावसायिक मौरीपालनमा लागेका स्थानीय तहका कृषि शाखाले जनाएका छन् । मह उत्पादन वृद्धिका लागि तोरीखेतीको क्षेत्रफल वृद्धि, पैयुँ, दुधिलो, चिउरीजस्ता रसदार वनस्पति र बोटबिरुवाको संरक्षण तथा वनमा डढेलो नियन्त्रण गरिनुपर्ने कृषि प्राविधिकहरु बताउँछन् ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार १६:५९