१६ जेष्ठ २०८३, शनिबार | Sun May 31 2026

गरिमा विकास बैंकका सीईओ उपाध्यायले लिए सपथ

२ वैशाख, काठमाडाैँ । गरिमा विकास बैंक लिमिटेडले बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत(सीईओ)गोविन्द प्रसाद ढकालको विदाई तथा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायको पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले वैशाख १ गते काठमाण्डौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा एक विशेष समारोह आयोजना गरी उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त समारोहमा विकास बैंकको सञ्चालक समितिका पदाधिकारीहरु, पुर्वअध्यक्षहरु,गरिमा म्युचुअल फण्डका कोष सुपरिवेक्षकहरु, सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेडका अध्यक्ष, सञ्चालक समिति सदस्य र प्रमुख कार्यकारी अधिकृत, विकास बैंकमा व्यवस्थापन तहमा कार्यरत पदाधिकारीहरु तथा अन्य कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।

गरिमा विकास बैंकमा विगत १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका गोविन्द प्रसाद ढकालको कार्यकाल २०८० चैत्र मसान्तमा समाप्त हुने भएसंगै बैंकको गत चैत्र १४ गते सम्पन्न सञ्चालक समितिको ३०४ औं बैठकले नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत माधव प्रसाद उपाध्यायलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

पद तथा गोपनियताको समथ ग्रहण पश्चात बोल्दै नवनियुक्त प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले बैंकमा कार्यरत सशक्त युवा जनशक्तिमार्फत संस्थागत सुशासन र अनुपालनालाई पहिलो प्राथमिकतामा राखी विकास बैकलाई थपउ चाईमा पु¥याउने तथा सदैव उत्कृष्ट प्रतिफल प्रदान गर्नमा केन्द्रीत रहने प्रतिवद्धता व्यक्त गरे ।

त्यसैगरी, निवर्तमान प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले विगत १५ वर्षभन्दा बढी समय बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेकोमा सञ्चालक समतिप्रति कृतज्ञता व्यक्त गरे ।

कार्यक्रममा विकास बैंकका अध्यक्ष श्याम प्रसाद बस्यालले बैंकलाई यो उचाईसम्म पुर्याउनका लागि निवर्तमान प्रमुख कार्यकारी अधिकृतले खेलेको महत्वपूर्ण भुमिकाको प्रशंसा गर्दै नवनियुक्त प्रमुख कार्यकारी अधिकृतको नेतृत्वमा विकास बैंक आगामी दिनमा सम्पूर्ण परिसूचकमा थप सबल र उत्कृष्ट हुने अपेक्षा रहेको बताए ।

काठमाण्डौको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौ उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखाकार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएममार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित मिति : April 14, 2024 at 1:58 pm