१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

गण्डकी प्रदेशका अस्पतालहरूमा बिहान ७ देखि साँझ ७ बजेसम्म ओपिडी सेवा

२६ चैत, कास्की । गण्डकी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले जिल्ला अस्पतालले प्रदान गर्ने बहिरङ्ग (ओपिडी) सेवालाई थप गरि १२ घण्टा पु¥याउने निर्णय गरेका छन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार पदभार ग्रहण गर्दै मुख्यमन्त्री अधिकारीले सो निर्णय गरेका हुन ।

अस्पतालहरुले बिहान १० देखि साँझ ५ बजेसम्म ‘ओपिडी’ सेवा सञ्चालन गर्दै आएकामा अबदेखि बिहान ७ देखि साँझ ७ बजेसम्म उक्त सेवा सञ्चालन गर्नेछन्  ।  अधिकारी कास्की–१ (क) बाट प्रदेशसभामा निर्वाचित भएका थिए ।

नेकपा (एमाले) सहित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका हुन । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा, १६८ को उपधारा २ बमोजिम अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन । यसअघि नेपाली कांग्रेसबाट निर्वाचित सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएपछि एमालेको नेतृत्वमा प्रदेश सरकार बनेको हो ।

कांग्रेसले भने मुख्यमन्त्री नियुक्ति प्रक्रियाप्रति असहमति जनाएको छ । मुख्यमन्त्री अधिकारीले एमालेका २२, माओवादी केन्द्रका आठ (सभामुखसहित) र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थन जुटाएर मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरेका थिए ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार ०७:४४