११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

गण्डकीमा मुख्यमन्त्री नियुक्तीप्रति कांग्रेसको असहमति

२५ चैत, गण्डकी । नेपाली कांग्रेसले गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्ती प्रक्रियाप्रति असहमति प्रकट गरेको छ । कांग्रेस प्रदेशसभा संसदीय दलले राजीनामा नदिइकन सरकार गठनका लागि सभामुखको समर्थन रहेको देखाउनु ‘असंवैधानिक’ भएको जनाएको छ ।

कांग्रेस ससंदीय दलका तर्फबाट प्रदेश प्रमुख डिल्लीराज भट्टलाई पठाइएको पत्रमा समर्थन गरेका भनिएका ३१ जना प्रदेशसभा सदस्यको हस्ताक्षरको आधिकारिक सनाखत हुनुपर्ने माग गरिएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए । उनले दल त्याग गरिसकेको अवस्थामा सभामुख पद तटस्थ हुने भन्दै सरकार गठनको जोडघटाउमा सभामुख लाग्न नमिल्ने बताए ।

“संविधानको व्यवस्था अनुसार सरकार गठन हुनुपर्छ, अहिले गरिएको मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक रहेको हाम्रो ठहर छ”, सचेतक न्यौपानेले भने । प्रदेश प्रमुख भट्टले नेकपा (एमाले) गण्डकी प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। संविधानको धारा १६८ (२) बमोजिम उनी मुख्यमन्त्री बनेका हुन् ।

यसअघि आजै नेता अधिकारीले एमालेका २२, नेकपा (माओवादी केन्द्र)का आठ (सभामुखसहित) र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ गरी ३१ सदस्यको समर्थनमा मुख्यन्त्रीमा दाबी पेस गरेका थिए । ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री बन्न ३१ बहुमत सदस्यको समर्थन चाहिन्छ । दुई सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी भने सरकार गठनको प्रक्रियामा सामेल भएको छैन ।

प्रकाशित मिति : April 7, 2024 at 2:37 pm