१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

इलाम २ का एमाले उम्मेदवार सुहाङ नेम्वाङ अब माओवादीको पनि उम्मेदवार

२३ चैत, काठमाडौँ । इलाम २ का उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले नेकपा एमालेको उम्मेदवारलाई समर्थन जनाएको छ । योसँगै एमाले उम्मेदवार सुहाङ नेम्वाङ अब माओवादीको पनि उम्मेदवार भएका छन । एमालेको केन्द्रीय कानुन विभागका सदस्य सुहाङ नेम्वाङ संविधानसभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङका पुत्र हुन ।

शुक्रबार नेकपा माओवादी केन्द्रका इलाम संयोजक विजय खम्बु र एमाले इलामका अध्यक्ष महेश बस्नेतले संयुक्त विज्ञप्ति जारी गर्दै सुहाङ नेम्वाङ साझा उम्मेदवार रहेको जानकारी दिएका छन । उनीहरू सुहाङ साझा उम्मेदवार रहेको भन्दै मतदानका लागि समेत अपिल गरेका छन । विज्ञप्तिमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बीचमा चुनावी तालमेल भएकोले सोही अनुसार गर्न नेता कार्यकर्तामा अपिल गरिएको छ ।

निर्वाचन आयोगले आगामी वैशाख १५ गते इलाम २ मा उप निर्वाचन गर्दैछ । निर्वाचन आयोगले शुक्रबार मात्रै इलाममा ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र निर्धारण समेत गरेको छ । एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वङको निधनपछि रिक्तरहेको प्रतिनिधिसभा सदस्य पदमा उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार २१:४९