२६ फाल्गुन २०८२, मंगलवार | Wed Mar 11 2026

युरोप पठाउने भन्दै श्रीलंकनलाई काठमाडौंमा बन्धक, चार जना पक्राउ

२३ चैत, काठमाडौँ ।  श्रीलंकन नागरिकहरूलाई वैदेशिक रोजगारको लागि विभिन्न युरोपियन देश पठाइदिने भन्दै नेपालमा ल्याएर बन्धक बनाउने चार जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाकिस्तानी नागरिकहरू ५७ वर्षीय जुबेर अम्जाद, ४२ वर्षीय शाहजेहान तानबिर, ६१ वर्षीय मलिक अब्दुल हमिद र ४४ वर्षीय आरिफ मसिह रहेका छन् ।

श्रीलंकन नागरिकहरूलाई क्यानडा, रोमानिया, ग्रिस लगायतका देशहरूमा पठाई दिने विश्वास दिलाई श्रीलंकाबाट नेपाल ल्याई उपत्यकाका विभिन्न स्थानहरूमा रहेका होटलमा राखेको प्रहरीले जनाएको छ।

उनीहरूले पीडितहरूको पासपोर्ट नियन्त्रणमा लिई विभिन्न किसिमका धाकधम्की दिई, कुटपिट गर्नुका साथै आफन्तसँग सम्पर्क गर्न नदिई साथमा रहेको नगद समेत लिई जबर्जस्ती बन्धक बनाई राखेको प्रहरीले जनाएको छ ।

बन्धक बनाइएका नागरिकलाई प्रहरीले चैत २२ गते सकुशल उद्वार गरेको छ। पक्राउ परेका उनीहरूलाई अपहरण तथा शरीर बन्धक लिन नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार १७:५६