२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका निजी क्षेत्रका सुरक्षा गार्ड हटाइने


२० चैत, काठमाडाैँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका खटिएका निजी क्षेत्रका सुरक्षा गार्ड हटाउने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रबन्धलाई थप सुदृढ र प्रभावकारी बनाउने विषयमा गठित राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीको नेतृत्वमा गठित समितिको प्रतिवेदन कार्यान्वयन गर्दै सरकारले निजी क्षेत्रका सुरक्षा गार्ड हटाउने तयारी गरेको हो ।

मंगलबार प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयमा भएको छलफलमा निजी क्षेत्रका सुरक्षा गार्ड हटाउने सम्बन्धमा छलफल भएको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सचिवालयले जनाएको छ ।  मन्त्री लामिछानेले प्रतिवेदन कार्यान्वयनमा कुनै बहाना नगर्न  निर्देशन पनि दिए ।

समितिले प्रतिवेदनमा नेपाल प्रहरीको छुट्टै हवाई सुरक्षा सेवा गठन गर्न, विमानस्थलबाट निजी क्षेत्रका सुरक्षा गार्ड हटाउन, दुई वर्षभन्दा बढी कार्यरत कर्मचारीलाई सरुवा गर्न, आधुनिक उपकरण र डिटेक्टरको व्यवस्था गर्न, कुटनीतिक कार्गो जाँच गर्ने प्रणालीलाई थप प्रभावकारी बनाउन, विमानस्थलको एकीकृत इन्टलिजेन्स् बनाउन, अध्यागमन ऐन र नियमावली समय सापेक्ष संशोधन गरी विमानस्थलको प्राविधि सुधारलगायत पक्षमा सुझाव दिएको छ।

छलफलमा सबैको कुरा सुनेपछि उपप्रधान तथा गृहमन्त्री लामिछानेले प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिए। उनले विमानस्थलमा रहेका निकायबीच प्रभावकारी समन्वय र सहकार्य गर्न र एक अर्कालाई दोषारोपण नगर्न आग्रह गरे ।

उनले सुरक्षा वा अन्य व्यवस्थापनको बहानामा यात्रुलाई हैरानी र सास्ती दिने प्रवृत्ति अन्त्य गर्न जोड दिए । तत्कालै परिवर्तनको अनुभूति गर्ने गरी नागरिकलाई सुरक्षा र सेवा दिन निर्देशन दिए । गृहमन्त्री लामिछानेले नागरिकलाई सेवा दिने, अन्तर्राष्ट्रिय पहिचान स्थापित हुने र सुरक्षाजस्तो संवेदनशिल विषयमा बजेटको अभाव छ भनेर नपन्छिन आग्रह गरे ।

उपप्रधानमन्त्री लामिछानेले भने एकातिर भएको बजेट खर्च गर्न नसक्ने र अर्कातिर बजेट नै छैन भन्ने नियमित काम पनि सार्ने दोहोरो प्रवृत्ति नदेखाउन कर्मचारीलाई निर्देशन दिए । लामिछानेले प्रतिवेदनका सुझाव कार्यान्वयनमा रचनात्मक हुन आग्रह गरे । निर्देशनको पखाई भन्दा पनि समस्याको सही पहिचानसहित साना–साना कामबाट सुधार प्रारम्भ गर्न उनले अनुरोध गरे ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलवार २१:१६