१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

माओवादीकै संरक्षणमा १५ वर्षदेखि फरार थिए हत्या आरोपी कालीबहादुर खाम


२० चैत, काठमाडौँ । माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेका छन्। मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले खामलाई ठमेलबाट पक्राउ गरेको हो । माओवादीका पूर्वकमाण्डर खाममाथि कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्याको आरोप छ । १५ वर्षदेखि खाम  फरार सूचीमा रहेका थिए।

तत्कालीन माओवादी निकट नै रहेका व्यापारी रामहरि श्रेष्ठलाई २०६५ साल वैशाख १५ गते कोटेश्वरबाट नियन्त्रणमा लिइएको थियो । श्रेष्ठलाई चितवनको शक्तिखोरस्थित माओवादी लडाकुको क्याम्पमा पुर्‍याइएको थियो। श्रेष्ठको घरमा ‘जनमुक्ति सेना’ तेस्रो डिभिजनको सम्पर्क कार्यालय राखिएकोमा उक्त कार्यालयमा चोरी भएपछि उनीसहित तीन जनालाई नियन्त्रणमा लिइएको थियो।

श्रेष्ठको घरबाट २०६४ चैत १४ गते १७ लाख नगदसहित हतियार चोरी भएको थियो। त्यसपछि श्रेष्ठसहित केशव अधिकारी र गंगाराम थापालाई नियन्त्रणमा लिएर शक्तिखोर पुर्‍याइएको थियो। अत्यधिक कुटपिटबाट मृत्यु भएपछि २०६५ वैशाख २८ गते बिहान नारायणी नदीमा उनको शव फ्याँकिएको थियो । उनको मृत्युपछि श्रीमती रमिला श्रेष्ठले आफ्ना पतिको अपहरण भई हत्या भएको भन्दै किटानी जाहेरी दिएकी थिइन् ।

तत्कालीन ‘जनमुक्ति सेना’ तेस्रो डिभिजनका कमान्डर कालीबहादुर खाम, केशव अधिकारी, गंगाराम थापा र अर्जुन कार्कीलाई घटनामा संलग्नताको आरोप लगाउँदै जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा चलाइएको थियो । खाम फरार भएपछि यो मुद्दा मुल्तबीमा राखिएको थियो ।

१५ वर्षदेखि प्रहरीको खोजीको सूचीमा रहेका फरार अभियुक्त  भए पनि खाम सत्तारूढ पार्टी नेकपा माओवादी केन्द्रको राष्ट्रिय सुरक्षा विभागको सदस्य थिए । माओवादी केन्द्रको राष्ट्रिय सुरक्षा विभागको ७औँ नम्बरमा खामको नाम रहेको छ । हात्या अभियोगमा फरार सूचीमा रहेका खाम लामो समयदेखि माओवादी केन्द्रकै संरक्षणमा रहँदै आएका थिए ।

एमाले र माआवादीको एकतापछि बनेको नेकपा विभाजन हुँदा खामले एमाले प्रवेशको तयारी गरेका थिए । त्यतिबेलामा रामबहादुर थापा बादलले खामसहितका केही पूर्वलडाकुलाई एमालेमा प्रवेश गराउन खोजेका थिए । एमाले अध्यक्ष ओलीसहित एमाले नेताहरूसँग अनौपचारिक छलफल भए पनि अन्तिम समयमा खाम एमालेमा जानबाट रोकिएका थिए । पछि तिनै खामलाई माओवादी केन्द्रले केन्द्रीय विभागको सदस्य बनाएर संरक्षण गरेको थियो ।

अहिले माओवादी केन्द्रकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको समयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको आडभरोसमा प्रहरीले खामलाई पक्राउ गरेको छ । अब उनीविरूद्धको मुद्दा अदालतमा थप अघि बढ्नेछ । उनलाइ थप कारबाहीका लागि चितवन पठाइनेछ ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलवार १६:१२

https://srdb.com.np/