२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

सदनमा उठेका विषय कार्यान्वयन गर्न सांसदको माग

१९ चैत, काठमाडौँ ।  प्रतिनिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले मुलुकमा महङ्गी बढ्दै गएको, तुइन विस्थापित गर्नुपर्ने, सडक पुनःनिर्माणमा ध्यान दिनुपर्नेलगायतका समसामयिक विषयमा सरकारको ध्यानार्कषण गराएका छन् ।

सांसद अञ्जनी श्रेष्ठले मुलुकमा महङ्गी, भ्रष्टाचार, बेरोजगार र हिंसाका घटना न्यूनीकरणका लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिइन् । उनले प्रधानमन्त्री तथा मन्त्रीहरुलाई सडकमार्फत यात्रा गर्न पनि आग्रह गरिन् ।

सांसद अनिसा नेपालीले २०७२ सालमा दुई वर्षभित्र तुइन विस्थापित गर्ने भनिए पनि अहिलेसम्म पनि पूर्णरुपमा तुइन विस्थापित नभएकोप्रति चिन्ता व्यक्त गरिन् ।

सांसद अम्बरबहादुर रायमाझीले सङ्घीय संसद्मा हुने छलफल र बहसलाई सिङ्गो मुलुकले नियाल्ने भएकाले लोकतन्त्रको रक्षाका लागि सदनमा उठेका विषय कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद अमृतलाल राजवंशीले झापा निर्वाचन क्षेत्र २ कन्काई नगरपालिका–९ मा पर्ने राजवंशी समुदायको इतिहास, कला, संस्कृति पहिचान झल्किने सङ्ग्रहालय सम्पन्न गर्न आवश्यक बजेटको व्यवस्था मिलाउन आग्रह गरे ।

सांसद अमृतादेवी अग्रहरीले सरकारले आम नागरिकलाई जथाभावी कर लगाउने गरेकोप्रति असन्तुष्टि व्यक्त गरिन् सांसद अर्जुननरसिंह केसीले प्रहरी बढुवामा वरिष्ठलाई पाखा लगाइएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सांसद अशोककुमार चौधरीले थारु समुदायलाई राष्ट्रिय मूलधारमा ल्याएर सामाजिक न्याय र अधिकारको उपयोग गर्न आगामी आर्थिक वर्षको बजेटमा आवश्यक बजेट व्यवस्थापन गर्न माग गरे । सांसद आश्माकुमारी चौधरीले यही चैत १० गते दाङमा विद्युत्को तार चुँडिएर करेन्ट लाग्दा एकै घरका तीन जनाको मृत्यु भएको घटनामा नेपाल विद्युत् प्राधिकरण दोषी रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

सांसद असिम शाहले हावाको गुणस्तर सबैभन्दा खराब भएका दश देशमा नेपाल पनि परेको उल्लेख गरे । उनले सरकारले प्रदूषण कर लिएर कोष निर्माण भएको भए पनि खर्च नभएकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

सांसद ईश्वरी घर्तीले पछिल्लो समय समाजमा व्यक्ति हत्या, समूहबीच हत्या भएको र ८० प्रतिशत घटना चिनेजानेकै व्यक्तिबाट हुने गरेको प्रहरीको प्रतिवेदनले देखाएको हुँदा सरकारले त्यसप्रति ध्यान दिन आग्रह गरिन् ।

सांसद ईश्वरीदेवी न्यौपाने त्रिभुवन विश्वविद्यालयले परीक्षाको उत्तरपुस्तिका हरायो भन्दै फेरि परीक्षा दिन आउ भन्दा विद्यार्थीलाई कस्तो अनुभव हुन्छ भन्नेप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । सांसद उर्मिला माझीले लमजुङलगायत ताप्लेजुङ, पाँचथर र इलाममा उत्पादित छुर्पी निर्यात हुन नसक्दा थुप्रिरहेको विषयप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद ऋषिकेश पोखरेलले मोरङमा सडक योजना अलपत्र भएको हुँदा उक्त सडक निर्माणमा ध्यान दिन आग्रह गरिन् । सांसद एकनाथ ढकालले नेपालमा मानसिक समस्या धेरै बढ्दै गएको भन्दै वर्षमा औसतमा सात हजार व्यक्तिको मृत्यु तथा आत्महत्या भएको देखिएको हुनाले मानसिक उपचारको प्रबन्ध गर्न सरकारको ध्यानार्कण गराए । सांसद ऐनबहादुर शाहीले सवारी दुर्घटना बढदै गएकाले त्यसप्रति सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

सांसद कल्पना चौधरीले वर्षाको समयमा इटहरीमा धेरै समस्या हुने बताइन् । उनले इटहरी उपमहानगरपालिकामा राम्रो सरकारी अस्पतालको माग गरिन् । सांसद डा कालुराम राईले झापाका सडक चालु आर्थिक वर्षमै पक्की बनाउन आग्रह गरे ।

सांसद किरणकुमार साहले मधेसका विभिन्न ठाउँमा पानी सुक्दै गएको भन्दै भविष्यमा पानीको ठूलो समस्या हुनसक्ने भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सांसद गगन थापाले पूर्वी मधेस र पश्चिम मधेसका किसानका लागि नीलगाई असाध्यै राम्रो हुने भन्दै त्यससम्बन्धी अध्ययन गरी काम गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद गणेश पराजुलीले काठमाडौँ उपत्यकामा शुद्ध खानेपानी नभएको, मेलम्चीको खानेपानी वितरण प्रणाली व्यवस्थित नभएकोभन्दै सरकारको ध्यानाकर्षण गराए ।

सांसद गीता बस्नेतले जुन जिल्लामा बीमा गरिएको हो त्यही स्थानबाट सुविधा लिनुपर्ने अवस्था रहेको भन्दै देशभरबाट उपचार लिन मिल्ने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद गङ्गा कार्कीले हङकङ र सिङ्गापुरबाट लाहुरेहरु घर फर्किंदा सामान व्यवस्थित गरेर पठाएको भए पनि नेपालमा आउँदा टुटने, फुट्ने र हराउने समस्या रहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । सांसद चन्दा कार्की भण्डारीले १५ महिनादेखि सदनमा जनताको दुःख र विकास निर्माणका काम समेटिएको प्रश्न राष्ट्रिय महत्वको विषय उठाएको तर सरकारले सम्बोधन नगरेकोप्रति ध्यानाकर्षण गराइन् ।

सांसद छिरिङ ल्हामु लामा (तामाङ)ले कर्णाली राजमार्ग सडक आर्थिक वर्ष २०६२/६३ सालमा सुरु भए पनि अझै सम्पन्न हुन नसकेको र कर्णालीमा राजमार्ग नै विस्तार हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे ।

सांसद जर्नादन शर्माले डोटी, बझाङ र जाजारकोटमा गएको भूकम्पका कारण हावाहुरीले पाल उडाउने, विद्यार्थीले पढ्न नपाएको र जनजीवन प्रभावित भएकोप्रति त्यसतर्फ ध्यान दिन माग गरे।

सांसद जीवन परियारले पर्यटन राजधानी पोखराको विमानस्थल सञ्चालन गर्नुपर्ने, तत्काल अन्तर्राष्ट्रिय सभाहल निर्माणको विषय उठान गरे । सांसद जुलिकुमारी महतोले धनुषा क्षेत्र नं ३ मा बाँसलाई विद्युतीय पोलको प्रयोग गरिएको हुनाले हावाहुरीले लत्रेको तारबाट करेन्ट लागेर धेरैको मृत्यु हुने गरेकोप्रति सरकारको ध्यानाकर्षण गराइन् ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार १४:२८