२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

फागुपूर्णिमा पर्व एकआपसमा रङ्ग दलेर मनाइदै

११ चैत, काठमाडौँ । सद्भावनाको पर्व फागुपूर्णिमा आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व तराईमा भने सोमबार होली भनेर मनाइँदैछ । आफन्त, साथीभाइ मिलेर रङ, पानी खेलेर खुसी साट्ने फागु पर्वको विशेषता हो ।

काठमाडौँ उपत्यकास्थित वसन्तपुरमा सामूहिकरूपमा फागु खेल्ने गरिन्छ । नेपाली र विदेशीसमेत वसन्तपुरको फागुमा सहभागी हुने गरेका छन् । पर्यटकका पथप्रदर्शक भुमराज तिवारी होली खेल्न पर्यटक उत्साहित हुने गरेका बताउछन । उनी भन्छन “हरेक वर्ष विदेशीलाई होली खेलाउन वसन्तपुर लैजाने गरिन्छ । यो पर्व मन नपराउने कमै छन् ।”

फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर रमाइलोमात्र गरिदैन नाचगान पनि गरिन्छ । बूढापाका, युवा र बालबालिका पनि हौसिएर नाचगानमा भाग लिन्छन् । विगत केही वर्षदेखि बसन्तपुरमा पाल्पाको भवानु अल्मुनाइको नाममा बसन्तपुरमा टेम्को (परम्परागत बाजा) बजाउने अनि समूहमा आबद्ध भई नाच्ने प्रचलन बसेको छ । अल्मुनाइका भुवन केसीका अनुसार यो पाल्पाको पुरानो परम्परा हो ।

हिन्दू धार्मिक कथनअनुसार युवावस्थाका कृष्णले एक दिन झुक्याएर राधाको मुहारमा रङ दलिदिएछन् । रङ लगाउँदा भागदौड भएछ । यो गतिविधि सबैले रमाइलो मान्न थालेर फागुपर्व मनाउन थालिएको किंवदन्ती छ । अर्को जनश्रुति विष्णुका भक्त प्रह्लादसँग पनि जोडिएको छ । सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा फागुपर्व मनाइने गरिएको मानिन्छ । फागुपर्वले समाजमा असमानता र विभेद मेटाउन सांस्कृतिक भूमिका खेलेको बताउनेहरू थुप्रैछन ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आईतवार ०८:५७