२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

८ चैत, मध्यविन्दु (नवलपरासी) । मध्यविन्दु नगरपालिका–११ स्थित सडकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मध्यविन्दु–११ दमारचोकस्थित भित्री सडकमा दमारबाट तमासपुरतर्फ आउँदै गरेको लु ७६प १६२१ नंको मोटरसाइकल दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा परी मोटरसाइकलमा सवार मध्यविन्दु नगरपालिका–११ का ३० वर्षीय अनिल विकको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

त्यसैगरी, दुर्घटनामा परी गम्भीर घाइते भएका मध्यविन्दु–११ निवासी २५ वर्षीय अजय ठकुरीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने मोटरसाइकल चालक २८ वर्षीय कृष्णबहादुर विक प्रहरी नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए । मध्यविन्दु नगरपालिका–११ दमारमा नै बुधबार अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको थियोभने दुईजना घाइते भएका थिए ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार ११:४२