२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा पन्त चयन

५ चैत, काठमाडौँ । राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद कमलादेवी पन्त सर्वसम्मत रुपमा निर्वाचित भएकी छिन् । समितिको आज सिंहदरबारमा बसेको बैठकले सांसद पन्तलाई सभापतिमा चयन गरेको हो ।

नवनिर्वाचित सभापति पन्तलाई राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ गराए । उनले नवनिर्वाचित सभापति पन्तलाई बधाई तथा शुभकामनासमेत दिए ।

राष्ट्रियसभा नियमावलीअनुसार समितिको सभापति पदमा निर्वाचित सदस्यले राष्ट्रियसभाका अध्यक्ष समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था रहेको छ । नवनिर्वाचित सभापति पन्तले शपथ लगत्तै पद बहाली गरिन् । समितिको सभापतिको कार्यकाल दुई वर्षको हुन्छ ।

सो अवसरमा सभापति पन्तले समितिको कार्यक्षेत्रबमोजिम सुशासन कायम गर्न सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् । उनले दिगो विकासका लक्ष्य हासिल गर्न आर्थिक सबलीकरण, जलवायु परिवर्तनको जोखिम न्यूनीकरणलगायत महत्वपूर्ण विषयलाई प्रभावकारी रुपमा उठाउने बताइन् ।

सभापति पन्तले समितिको कार्यक्षेत्रसँग जोडिएका विषयलाई ‘टिमवर्क’ (समूहमा मिलेर गरिने काम) मार्फत प्रभावकारी कार्यान्वयनका लागि सरकारलाई समितिकातर्फबाट सहजीकरण गर्ने बताइन् । भ्रष्टाचार न्यूनीकरण नभएसम्म सुशासन प्रवर्द्धन नहुने भन्दै उनले त्यसतर्फ समिति क्रियाशील रहने बताइन् ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार १३:२४