२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

कृष्णबहादुर महरालाई सीआईबीकाे कार्यालय पुर्याइयाे

५ चैत, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) काठमाडौँ ल्याइएको छ ।

सोमबार बिहान महरा कपिलवस्तुबाट पक्राउ परेका थिए । उनलाई भैरहवा विमानस्थलबाट यति एअरलाइन्समार्फत काठमाडौँ ल्याइएकाे थियाे । प्रहरीले उनलाई लाजिम्पाटमा रहेकाे सीआईबीकाे कार्यालय लगेकाे हाे ।

सर्वाेच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा गठित सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले पूर्वसभामुख महरामाथि छानबिन गर्न सिफारिस गरेसँगै थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका र जाँचबुझ आयोगले कारबाहीको सिफारिस गरेका सबैमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरी नेतृत्वलाई निर्देशन दिएका थिए ।

गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको नौ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष महराको नाम जोडिएको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार १२:३७