२६ पुष २०८१, शुक्रबार | Fri Jan 10 2025

सामुदायिक वन व्यक्तिको नाममा पुर्याउने वन अधिकृतसहित २४ जनाविरुद्ध मुद्दा दायर

४ चैत, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीमा सामुदायिक वनको जग्गालाई व्यक्तिको नाममा पुर्याउन संलग्न रहेको आरोपमा डिभिजन वन कार्यालयका तत्कालीन अधिकृतसहित २४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले डिभिजन वन कार्यालय महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हाे । वडाअध्यक्ष, उपभोक्ता समितिका पदाधिकारी लगायतलाई प्रतिवादी बनाइ आज विशेष अदालत, काठमाडौँमा मुद्दा दर्ता दायर गरिएको हो ।

आरोपितले रु ११ लाख ९६ हजार ६ सय ९५ बराबरको सरकारी सम्पत्ति हानि नोक्सानी गरेको आरोपपत्रमा उल्लेख छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसूर गरेकाले हानिनोक्सानी भएको बिगो असुल उपर मागदाबी लिई मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

आयोगले रम्तेलडाँडा सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन उपाध्यक्ष उमादेवी बुढाथोकी, कोषाध्यक्ष प्रेमबहादुर थापा, सचिव धनकुमारी मगर, सदस्य उर्मिला थापा मगर र पूर्णबहादुर सुस्लिङलाई प्रतिवादी बनाएको छ । त्यसैगरि महोत्तरीको बर्दिबास नगरपालिका–१ का जग्गाधनीद्वय लीलामणी आचार्य र कृष्णप्रसाद गौतम, रम्तेलडाँडा सामुदायिक वनका उपभोक्ताद्वय एमबहादुर थापा मगर र नन्दमाया खनाल तथा रुख कटानमा संलग्न सिन्धुलीको सुनकोशी गाउँपालिका–४ का सन्दिप नेपालीलाई समेत प्रतिवादी बनाइएको छ ।

यस्तै सव–डिभिजन वन कार्यालय महोत्तरीका तत्कालीन सहायक वन अधिकृत लक्ष्मणप्रसाद यादव, फरेष्टर सन्तोषकुमार साह, वनरक्षकहरु राजकिशोर झा, अजयकुमार यादव, राकेशकुमार यादव, नारायण ढुङगेल र दिलीप महतोले पनि भ्रष्टाचार गरेको आरोपपत्रमा उल्लेख छ । नापी कार्यालय महोत्तरीका तत्कालीन अमिन रामदरश राउत र मालपोत कार्यालय महोत्तरीका तत्कालीन नायब सुब्बा ओमप्रकाश खड्का समेत आरोपित छन् ।

बर्दिबास नगरपालिका–१ का तत्कालीन वडाध्यक्ष चुडामणी पोखरेल, वडा सदस्य शान्तादेवी श्रेष्ठ र रम्तेलडाँडा सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष शेरबहादुर राउतविरुद्धसमेत अख्तियारले मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आईतवार १६:३८