२ मंसिर २०८१, आईतवार | Sun Nov 17 2024

दैवसँग पहिला छोरा मागेँ, अहिले मृत्यु माग्दैछु

–दुर्गा पुडासैनी

७ मंसिर,काठमाडाै । छोरा जन्माउनुपर्छ भने, छोरा दिने उत्सर्गमा पुगेकी म एक—एक वर्षको अन्तरमा बच्चा जन्माउँदै गएँ । सायद मलाई दैव हेप्दै थियो । जतिपटक पनि छोरीमात्र जन्मन्थे । म उदास भैसकेको थिएँ । सन्तानै जन्मिए पनि छोरा नहुँदा अपुत्री भनेर गलत नजरले सबै जना उपेक्षा गर्ने गर्दथे ।

आफन्तको त के कुरा गर्नु मुखपनि बोल्दैनथे । मलार्इ पनि छोरा चाहिन्छ जस्तो लाग्थ्यो । बुढो हुँदा कस्ले पाल्ला, बिरामि हुँदा कसले उपचार गर्ला, छोरीहरु अरुको घरमा गएपछि फर्कदैनन्, म पनि माइती गएको छैन यस्तै सोचले मलाइ भित्र भित्रै खान लागिसकेको थियो । एउटा मात्रै भनेनी छोरा जन्माउने अठोट गरेँ । ७/८ ओटी छोरी जन्मिसकेका थिए गरीबिको कारण खानलाउन धौ—धौ थियो तेहिपनि म हरेस मान्ने परिस्थितिमा थिइन ।

कहिलेकाहीँ गाउँलेको गलत व्यवहार सहन नसकेर लोग्ने पनि घर आएर रन्कन्थे तर मलाइ कहिले दोस दिएनन् छोरा नजन्माएकोमा । ८ औँ सन्तान पछि म फेरी गर्भवती भएँ । हामि बुढा बुढी छोरा जन्मने झिनो आसमा पुलकित थियाैँ । गाउँका मान्छेको के काम मेरो पेट देखिन थालेपछि कुरा काटेर हाँस्न थालिसकेका थिए । हामि भगवान भरोसामा अडिरहेका थियौ । ९ महिना पुरा भएपछि म सुत्केरी भएँ । सबैमा उत्सुकता थियो गाउँका महिलाहरु बिल्ला गर्न के जन्मियो भनेर कान थापेर बसेका थिए ।

मैले जन्माएको सन्तान लाई हेरीन मनमनै रुँदै अर्को पटि फर्केर सुतेँ सोचेँ अब फेरी सबैलाई रमाइलो गर्ने मैका मिलेको छ । हे दैव ठिकै छ म त्यस्तो सोच्दै थिएँ ओइ फलानी तेरो अहिलेचैँ गजबै भयो ल छोरा जन्मेको छ । बिल्ला गरेको सोचेर म चुपचाप बच्चा पटि नफर्की सुतिरहेँ । ओइ हेर्न एता सुडेनी कराउँदै थिइ । बुढा दिक्क मानेर आँगनको परखालमा टाउकोमा हात राखेर बसिरहेका थिए । म लुगा फेर्न उठेँ जे जन्मेको भएपनि मेरो सन्तानपो हो त नहेरी कसरी बस्न सक्थेँर पुलुक्क हेरेँ साँच्चै छोरा पो रहेछ ।

म डाँको छोडेर रोएँ । मेरो रोदन सुनेर बुढा पनि आए र छोरा देखे पछि बुढा पनि रोए त्यो हाम्रो रोदन पिडा मिस्रित खुसीको रुहाइ थियो । हामी दुबै खुसी भयौँ । यो पटक भने कसैले कुरा काट्ने मैका पाएनन् । जब छोरा जन्म्यो हामि धेरै खुसी थियौ । पुर्णीमा नजिकीदै गर्दाको चन्द्र जस्तै छोरो बढिरहेको थियो । हामि गाउँका सबैजनालाई देख्याै त हाम्रो छोरा मौनताको मुस्कानमानै भन्ने गर्दथौ । खान लाउन धेरै धै–धै हुन छाड्यो, छोरीहरुको पनि बिस्तारै बिवाह गरेर सिदियो, छोरालार्इ पढाएर ठुलो मान्छे बनाउने लक्षले पढायौं तर हामिले सोचेको जस्तो ठुलो मान्छे हाम्रो छोरो हुन सकेन तेहिपनि रहरमा जन्मेको छोरो हामि खुसीनै थियौ । छोरोको विवाह पनि धुमधाम संग गरेर राम्री बुहारी भित्रायौ हामी बुढाबुढी भैसकेका थियौ छोरोको बिहे गर्दा ।

छोरो बिबाह गरेपछि अर्कै भैदियो बुढाले पनिमायाँ गर्न छाडे,म काम पनि गर्न सक्दिन, केहि खानेकुरा दिएर अरुलार्इ काममा लगाउँदा बुहारी सबैसंग अरुलाइनै खानदिएर सम्पति सिध्याइ सासुले भन्दै गाउँभरी गाउँदै हिड्छे । छोरो बुहारीको कुरा सुनेर अपमान गर्छ । मेरोत सन्तानपो होत मलाइ छोराको असाध्यै मायाँ लाग्छ । तर बुहारी र लोग्नेले नदेख्ने गरी बोल्नु पर्छ । खाजा र लुगा छोरीहरुले ल्याइदिन्छन् । आज बुढेस्कालमा आएर म निसन्तान जस्तो एक्लै बस्नुपरेको छ ।

पहिला छोरा जन्माउन जति आतुर थिएं म अहिले मर्न त्यतिनै आतुर छु । सबैजना मिलेर खेदो खन्छन पहिला मायाँ गर्ने बुढो पनि अहिले बुहारी संग तुलना गरेर मलाई गाली गर्ने कुटपिट गर्ने मर्देनि हुनि थियो भन्ने गरिरहेका छन् । बुहारी चैँ मेरो रिस गर्दै सन्तानलाई मायाँ पोख्दैछे । मैले भबिस्य देखेको भए छोरोको चाहाना राख्ने थिइन, बुहारीले भबिस्य देखेको भए मलाई अपमान गर्ने थिइन । अब काल पर्खदैछु, सानो छँदा आमा कताछौ भन्दै नदेख्दा सम्म रुने छोरो अब म मरे खुसीहुने सोचमा छ । मैले औषधि मागेर काठमाडौमा घर बन्ने पैसा सक्काएं रे, उसकी श्रीमती पनि रुष्ट छे म संग । दैवसंग हरेक दिन पहिला छोरा माग्थेँ अहिले मृत्यु मागिरहेकी छु ।

प्रकाशित मिति : ७ मंसिर २०७५, शुक्रबार १३:२३