दुई हजारको विवादले लियो २१ वर्षीय रमाको ज्यान
२२ जेठ, काठमाडौँ । झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रमा तिवारीको हत्या प्रकरणमा चकित पार्ने तथ्य बाहिर आएको छ । पैसाको विषयमा भएको विवादले उग्र रूप लिएपछि रमाको घाँटी थिचेर हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले भारतीय नागरिक राकेशकुमार पण्डिलाई बिहीबार राति झापाबाटै पक्राउ गरेको छ । पण्डित दमक तथा आसपासका क्षेत्रमा टायल्स र मार्बल जडानको ठेक्कापट्टाको काम गर्दै आएको पाइएको छ । पण्डितले बलात्कारपछि हत्या गरेको बुझिएको छ ।

प्रहरीका अनुसार हत्या हुनुअघि रमा र आरोपितबीच चिनजान रहेको देखिएको छ । अनुसन्धानबाट प्राप्त विवरणअनुसार दमकस्थित सगरमाथा पेट्रोल पम्प नजिकको झाडीमा उनीहरूको भेट भएको पाइएको छ । प्रहरीको प्रारम्भिक निष्कर्षअनुसार पैसाको विवाद चर्किएपछि पण्डितले रमाको घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाको निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सुमन बानियाँले जानकारी दिए ।
प्रहरी निरीक्षक बानियाका अनुसार हत्या गरेपछि घटनालाई लुकाउन पण्डितले शव मोटरसाइकलमा राखेर दमक नगरपालिका–१० स्थित सेतुमारी क्षेत्रमा रहेको रतुवा खोलाको पुलमुनि पुर्याई फालेका थिए । शव बोराभित्र कोचिएको अवस्थामा भेटिएको थियो ।
गत जेठ १६ गते रतुवा खोलामा बोराभित्र युवतीको शव फेला परेपछि घटनाले झापामा सन्नाटा छाएको थियो । शवको पहिचान भएपछि प्रहरीले मोबाइल विवरण, प्राविधिक विश्लेषण तथा स्थानीय सूचनाका आधारमा अनुसन्धान तीव्र बनाएको थियो।
लगातारको अनुसन्धानपछि प्रहरीले घटनामा संलग्न मुख्य आरोपितसम्म पुग्न सफलता प्राप्त गरेको जनाएको छ । घटनामा प्रयोग गरिएको मोटरसाइकलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।


प्रकाशित मिति : June 5, 2026 at 7:14 pm







