१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

एमाले बैतडीको अधिवेशन सोमबार


२७ फागुन, बैतडी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को जिल्ला अधिवेशन सोमबारदेखि हुँदैछ । पाटनमा आयोजना हुने नवौँ अधिवेशनका लागि तयारी अन्तिम चरणमा छ । अधिवेशनको उद्घाटन पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्ने एमालेका जिल्ला उपसचिव लोकेन्द्र भण्डारीले जानकारी दिए । अधिवेशनका लागि पार्टीले जिल्लाका १० वटा पालिकाबाट प्रतिनिधि छनोट गरेको छ । अधिवेशनका लागि सबै पालिकाबाट सर्वसम्मत प्रतिनिधि छनोट गरिएको जनाइएको छ ।

अधिवेशनमा सबै वडाबाट छ सयभन्दा बढी प्रतिनिधि छनोट भएका उहाँले जानकारी दिए । उनका अनुसार ७५ सङ्गठित सदस्य बराबर एक महिलासहित तीन प्रतिनिधि छनोट भएका र दलित सङ्गठित सदस्यबाट ४० बराबर एक महिलासहित तीन प्रतिनिधि छनोट भएका छन् ।

आगामी नेतृत्वका लागि नेता आन्तरिक तयारीमा जुटिरहेका र अधिवेशन सफल पार्नका लागि अन्य तयारीसमेत तीव्र पारिएको जनाइएको छ । अधिवेशनबाट नेतृत्व लिनका लागि नेताले तयारी थालिसकेका बताइएको छ । अधिवशेनबाट सर्वसम्मत नेतृत्व चयन हुने एमालेले जनाएको छ ।

पार्टीको नवौँ अधिवेशनमा नेतृत्व लिन नयाँ र पुराना नेता कस्सिएका छन् । अध्यक्षका लागि नरेश विक, हालै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) छाडेर एमालेमा फर्किनुभएका नरेन्द्र विष्ट र पार्टी उपसचिव लोकेन्द्र भण्डारीको नाम चर्चामा छ । निर्वाचन नै हुने स्थिति नआउने नेताहरु बताउँछन् । एमालेका निवर्तमान सुदूरपश्चिम अध्यक्ष तथा केन्द्रीय सदस्य दामोदर भण्डारीको गृह जिल्ला बैतडीमा उनको निर्देशन विपरीत नहुने भएका कारण सकेसम्म सहमतिबाटै नेतृत्व टुङ्गिने नेताहरु बताउँछन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आईतवार १८:१३