१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

चार दलीय गठबन्धनको ८ बुँदे सहमति


२१ फागुन, काठमाडौं । नयाँ सत्ता गठबन्धन बनाएका नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाले ८ बुँदे सहमति गरेका छन ।

सोमबार राति सार्वजनिक भएको सहमतिपत्रमा उल्लेख गरिएको छ `राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार सरकारको कामलाई अझ प्रभावकारी बनाउन तथा मुलुकको सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका पक्षमा समान सोच राख्ने दलहरूका बिचमा सहकार्य आवश्यक रहेको महसुस गरी चार दलको संयुक्त सरकार गठन गर्ने निष्कर्षमा पुगिएको छ।´

यस्तै सहमति अनुसार राष्ट्रियसभामा रिक्त रहेको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको छ।

यसैगरी सरकारमा सहभागी भएका दलहरूका बिचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने र त्यसरी बाँडफाँट गर्दा मन्त्रालयको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने सहमति भएको छ। 

त्यसैगरी सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अध्ययन विषयहरूलाई सहमतिका आधारमा अविलम्ब टुंगो लगाउने सहमति पनि भएको छ।

सहमतिपत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव र रास्वपाका सभापति रवि लामिछानेले हस्ताक्षर गरेका छन् । 

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार २२:०७