१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

अर्थमन्त्रीमा विष्णु पौडेल र बर्षमान पुनकाे चर्चा


२१ फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस लगायतका दलहरुसँगको सत्ता गठबन्धन टुटाएर एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीसँगको गठबन्धन बनाएसँगै अहिले अर्थमन्त्रीमा विष्णु पौडेल वा बर्षमान पुन मध्ये एक आउने चर्चा चलेको छ ।

सत्ता गठबन्धन भत्किएसँगै नयाँ गठबन्धनमा सरकार बन्ने भएपछि अर्थमन्त्रीमा पुन र पौडेल मध्ये एक जनालाई बनाउने तयारी भएको छ । पौडेल यसअघि गत पुसमा प्रधानमन्त्री प्रचण्ड नेतृत्वकै सरकारका अर्थमन्त्री बनेका थिए । एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच अर्थमन्त्रीमा पुन र विष्णु पौडेल मध्ये कसलाई पठाउने टुङ्गिन बाँकी छ ।

तर सेयर बजारमा भने अर्थमन्त्रीमा पौडेल आउने चर्चासँगै उछाल आएको छ । सोमबार सेयर बजारमा लगातार तीन पटक सर्किट लागेर बजार बन्द भएको छ । तीन सर्किटमा नेपाल स्टक एक्सचेन्जको कारोबार मापक नेप्से सूचक ६ प्रतिशतले बढ्दा एकै दिनमा २०७८ अंकमा उक्लियो। आइतबारको तुलनामा सोमबार नेप्से ११७.७० अंकले बढेको हो।

सेयर बजारले माओवादीलाई खासै रुचाएको इतिहास छैन। तर एमालेलाई भने सेयर बजारले मन पराउँदै आएको छ। विष्णु पौडेल अर्थमन्त्री हुँदा जसरी सेयर बजारले दुई पटक ऐतिहासिक बिन्दु चुम्यो, त्यसले पनि सेयर बजारले एमालेलाई मन पराएको प्रमाणित गर्छ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार १६:१८