२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

अदानचुलीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरूद्ध मुद्दा दायर

१६ फागुन, काठमाडौं । हुम्लाको अदानचुली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलप्रसाद पाण्डेसहित ११ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अदानचुली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तिल प्रसाद पाण्डे, इन्जिनियर मकर ध्वज शाही, सव इन्जिनियर जयराम छत्याल, योजना शाखामा समेत कार्यरत खानेपानी तथा सरसफाई टेक्निसियन मंगल भण्डारी, तत्कालीन लेखापाल दिपक नेपालीविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरूले अदानचुली गाउँपालिका, हुम्लासँग भएको सम्झौता विपरितको कार्य गरी फिल्डमा वास्तविक भएको भन्दा नापी किताब, उपभोक्ता सम्बन्धी बिल र कार्यसम्पन्न प्रतिवेदनमा बढी काम भएको मूल्याङ्कन गराएको अख्तियारले आरोप पत्रमा उल्लेख गरेको छ । गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा आयोगले बुधवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

यस्तै अदानचुली गाउँपालिका वडा-३ का वडाध्यक्ष दत्त विष्ट, उप-प्रमुख सौमति रावल ऐडी, अनुगमन समिति सदस्य मान बहादुर टमटा भन्ने मान्या टमटा, धनसरा टमटा, ढकनीकुनादेखि मिढेघट्टसम्म सिँचाइ योजना निर्माण उपभोक्ता समितिका अध्यक्ष दत्त रोकाय र कोषाध्यक्ष सिर्जना बुमीविरूद्ध मुद्दा दायर भएकाे अख्तियारले जनाएको छ । उनीहरूविरूद्ध ४२ लाख २९ हजार ३५८ रुपैयाँ जरिवाना र कैद गरी विगो मागदाबी माग दाबी गरिएकाे छ ।

प्रकाशित मिति : February 28, 2024 at 5:00 pm