सरकारले समयमै उद्धारका लागि अनुमति नदिँदा नेपाल घुम्न अाएका क्यानेडियन नागरिकको मृत्यु
६ मंसिर, काठमाडाैँ । सरकारले समयमै उद्धारका लागि अनुमति नदिँदा बुधबार डोल्पामा एक पर्यटकको मृत्यु भएको छ। गृहमन्त्रालयका कर्मचारीले पासपोर्ट नम्बर एचके १२२४७३ भएका क्यानेडियन नागरिक र्यान्डल फेरिस बेकरको उद्धारका निम्ति समयमै अनुमति नदिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
सरकारले अनुमति दिन ढिला गरेपछि डोल्पाका प्रमुख जिल्ला अधिकारी र डीएसपीको समन्वयमा बुधबार दिउँसो २:३० बजे सिम्रिक एयर पोखराबाट उद्धारका लागि घटनास्थल पुगेको थियो। तर सिम्रिक एयर उद्धारमा पुग्नुभन्दा पहिले नै पर्यटकको मृत्यु भइसकेको सिम्रिक एयरका अप्रेशन डाइरेक्टर क्याप्टेन एन्डीले बताएका छन ।

क्याप्टेन एन्डीका अनुसार उद्धारमा सरकारले ढिला गरी अनुमति दिँदा विदेशी पर्यटकको मृत्यु भएको यो तेस्रो पटक हो। एक घण्टाअघि उद्धारका लागि पुग्न सकेको भए उनलाई बचाउन सकिने चिकित्सकले बताएका छन्। उनको शे-फोक्सुण्डो गाउँपालिकामा पर्ने चार हजार तीन सय १० मिटर उचाइमा रहेको शे-गुम्बामा मृत्यु भएको प्रहरी नायव उपरीक्षक (डीएसपी) अवदेश विष्टले जानकारी दिए। उनको गुम्बामै मृत्यु भएको विष्टको भनाइ छ।
प्रकाशित मिति : ६ मंसिर २०७५, बिहीबार ०५:००












