सर्वसाधारणले आजदेखि सर्वोत्तम सिमेन्टको आईपीओ किन्न सक्ने, यस्तो छ प्रतिकित्ता मूल्य
१३ फागुन, काठमाडौँ । सर्वोत्तम सिमेन्ट लिमिटेडले आज (फागुन १३ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएकाे छ। कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।
कम्पनीको आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनु पर्नेछ। लगानीकर्ताले आईपीओमा न्यूनतम ५० कित्ता र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। कम्पनीकाे आईपीओमा निष्काशन बन्द छिटोमा फागुन १६ गते हुनेछ भने ढिलोमा फागुन २७ गते हुनेछ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै सिडिएस एण्ड क्लिरिङ्गद्वारा सञ्चालित सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन्।
प्रकाशित मिति : February 25, 2024 at 9:17 am









