चक्रघट्टा गाउँपालिकामा आज शोक बिदा, परिवारलाई ५० हजार सहयोग
२७ कात्तिक, काठमाडौं । मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा आफ्ना स्थानीय नागरिक गुमाएको शोकमा सर्लाहीको चक्रघट्टा गाउँपालिकाले शुक्रबार एक दिनका लागि स्थानीय शोक बिदा घोषणा गरेको छ ।
कात्तिक २६ गते बिहान भीमफेदी गाउँपालिका क्षेत्रमा भएको दुर्घटनामा चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका स्थानीयसहित केही यात्रुले ज्यान गुमाएका थिए । उक्त घटनाबाट गाउँपालिका शोकमा परेपछि बिहीबार बसेको गाउँ कार्यपालिकाको बैठकले शोक बिदा दिने निर्णय गरेको हो ।

गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवद्वारा जारी सूचनामा गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक तथा संस्थागत विद्यालय र गाउँपालिका क्षेत्रका सरकारी तथा गैरसरकारी कार्यालयमा शुक्रबार शोक बिदा रहने उल्लेख छ ।
दुर्घटनामा ज्यान गुमाएका गाउँपालिकाका स्थानीयका परिवारलाई अन्तिम संस्कार तथा काजक्रियामा सहयोग पुर्याउन प्रतिव्यक्ति ५० हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णयसमेत गाउँपालिकाले गरेको छ ।
शोक बिदाका कारण सार्वजनिक कार्यालयबाट प्रदान गरिने नियमित सेवा बन्द रहने भए पनि स्वास्थ्य संस्थाबाट उपलब्ध हुने आकस्मिक सेवा भने यथावत् सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।
प्रकाशित मिति : November 13, 2026 at 11:23 am










