२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

केपी ओलीले केक नकाट्ने, ७३ औँ जन्मदिनको पूर्व सन्ध्यामा यस्तो छ अपिल

१० फागुन, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केक नकाट्ने निर्णय गरेका छन । ७३ औँ जन्मदिनको पूर्व सन्ध्यामा ‘केपी बा’ नामको ठेगानाबाट भिडियो सन्देश जारी गर्दै अध्यक्ष ओलीले जन्मदिनको अवसरमा केक नकाट्ने निर्णय गरेका हुन । उनले जन्मदिनको मनाउन आउनेहरूलाई केक नलिइकन आउन पनि अनुरोध गरेका छन । उनले जन्मदिन धेरै धुमधामसँग पनि नमनाउने निर्णय लिएका छन ।

यद्यपी ओलीले यसको कुनै कारण खुलाएका छैनन् । उनको भिडियो तयार गर्नेहरूले यो वर्षमात्र केक नकाट्ने जस्तो सन्देश प्रवाह गरेका छन । ओलीको जन्मदिन भोलि अर्थात फागुन ११ गते हो । विभिन्न स्वार्थ समूहका मानिसहरू बोकेर युवा विद्यार्थीले केकसहित बालकोट धाउने प्रवृति बढेपछि ओलीले मुखै फोरेर शुभचिन्तहरूप्रति केही नभनी केक नकाट्ने भनेर भद्दा चाकरीमा रमाउनेहरूको बाटो बन्द गरिदिएका छन ।

प्रधानमन्त्री भएका समयमा गृह जिल्लामा ६९ औँ जन्मदिन मनाउने क्रममा यति समूहले केपीका लागि हेलिकप्टर नै रिजर्भ गरेर केक तेह्रथुम पुर्याइदिएको थियो । त्यस समय नेपालको नक्सा अकिंत केक काटेर ओलीले जन्मदिन मनाएका थिए । उनको जन्मदिन मनाउन त्यस समय तीन महिनादेखि तयारी गरिएको थियो ।

सामान्य किसान परिवारमा जन्मिएका केपी शर्मा ओली तीन पटक देशको प्रधानमन्त्री भैसकेका छन । अहिले प्रमुख प्रतिपक्षी दलका नेता हुन । २०२३ सालमा मार्क्सवादी अध्ययन दलमा संगठित भएका केपी २०२७ सालको चर्चित झापाको ‘टाउको काट’ विद्रोहका अगुवा समेत हुन्। सामन्तको टाउको काट्ने भनेर चर्चित बनेको झापा आन्दोलनपछि उनी राष्ट्रिय राजनीतितर्फ सोझिएका थिए। तत्कालीन नेपाल कम्युनिस्टले हतियारबद्ध संघर्ष सुरु गर्दा ओली संघर्षका मुख्य कमाण्डर रहेका थिए ।

केपीले आन्दोलनको क्रममा १४ बर्ष जेल जीवन विताए । २०३० सालमा जेल परेका केपी २०४४ असारमा भद्रगोल जेलबाट मुक्त भएका थिए । केपी जेलमुक्त भएपछि २०४४ सालको पुस २ गते धादिङको स्यादुलमा बसेको तत्कालीन नेकपा मालेको बैठकले उनलाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गरेको थिए । त्यसयता उनी निरन्तर नेकपा एमालेको केन्द्रीय राजनीतिमा देखिने भूमिकामा रहेका छन । राधिका शाक्यसँग विवाह गरेका केपीको आफ्नै सन्तान भने छैनन्। यद्यपी सायौँ मानिसले केपीलाई खुशीसाग बा भनेर सम्बोधन गर्ने गरेका छन ।

प्रकाशित मिति : February 22, 2024 at 10:00 pm