२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

लघुवित्त र मिटरब्याजपीडितलाई न्याय दिन सदनमा माग

१० फागुन , काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले लघुवित्त र मिटरब्याजपीडितहरु पुनःआन्दोलित भएकाले उनीहरूका माग सम्बोधन गरी न्याय दिन आवाज उठाएका छन् ।

बैठकको विशेष समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद् रोशन कार्कीले मिटरब्याजपीडितहरु धेरै दिनको यात्रा गरेर न्यायको खोजीमा काठमाडौँ आएकाले तिनलाई न्याय दिन आग्रह गरे ।

नेकपा (एमाले)का सांसद सुनिता बरालले पीडित नागरिक आफ्ना माग बोकेर सरकारलाई सुनाउन हप्तौँ हिँडेर काठमाडौँ आउनु दुःखको कुरा भएको बताइन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद नारायणी शर्माले गुठी, वन, विद्यालयलगायत विभिन्न खालका जमिनमा जनताले भोगचलन गर्दै आएकाले उनीहरूले आफ्नो जग्गाको जग्गाधनीपुर्जा लिन नपाएको बताइन् । उनले सङ्क्रमणकालीन न्यायका विषयलाई पनि छिटो टुङ्गो लगाउन माग गरिन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा तोसिमा कार्कीले बिरामीले कुन अस्पतालमा राम्रो उपचार पाउँछ भनेर तड्पिनुपर्ने र पाँच गुणासम्म बढी महँगो शुल्क तिनुपर्ने अवस्था रहेको बताउँदै आम नागरिक अस्पतालमा उपचार र खर्च नपाएर बन्धक भएकाले स्वास्थ्य संस्थालाई वर्गीकृत आधारमा शुल्क निर्धारण गरेर सेवा दिन माग गरिन् ।

जनता समाजवादी पार्टीका सांसद रेखा यादवले विराट जुटमिलमा आगलागी हुँदा धेरै क्षति भएको भएकाले उचित क्षतिपूर्ति दिन आग्रह गरिन् ।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता मेटमणि चौधरीले भूमिहीन किसानले उपभोग गर्दै आएको जग्गा सरकारी निकाय र मन्दिरका नाममा राखिएकामा चासो व्यक्त गरे ।

जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउतले गठबन्धनका बैठकमा विपक्षीलाई कसरी प्रतिरोध गर्नेभन्दा पनि कसरी देश बनाउने भन्ने विषयमा छलफल हुनुपर्नेमा जोड दिए । नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, आम जनता पार्टीका प्रभु साह, सांसद डा अमरेशकुमार सिंहलगायत उक्त विशेष समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : February 22, 2024 at 1:41 pm