१२ फाल्गुन २०८२, मंगलवार | Tue Feb 24 2026

ललिता निवास क्षेत्रको जग्गा सात दिनभित्रमा खाली गर्न महानगरको आग्रह

९ फागुन, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वडा नं ४ बालुवाटारस्थित ललिता निवास क्षेत्रको जफत (सरकारी) भएको सम्पत्ति संरक्षण गर्ने भन्दै उक्त क्षेत्र एक साताभित्र खाली गर्न आग्रह गरेको छ ।

विशेष अदालतको फैसलासँगै उक्त जग्गा सरकारी भएकाले सात दिनभित्र ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा सङ्घसंस्थाहरुलाई उक्त क्षेत्रबाट हट्न महानगरले आग्रह गरेको हो । सरकारी सम्पत्तिको संरक्षण तथा उचित प्रवन्ध गर्ने कार्यमा महानगरपालिकालाई सहयोग गर्न आग्रह समेत गरिएको महानगरपालिकाका सहायक प्रवक्ता दीपक अधिकारीले जानकारी दिए ।

उनका अनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद १३ स्थानीय तहको सम्पत्तिको संरक्षणसम्बन्धी व्यवस्थाअन्तर्गत दफा ९७ (१) ले काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मतसम्भार तथा अन्य प्रबन्ध गर्नुपर्ने कानुनी दायित्व महानगरपालिकालाई तोकेकाले ललिता निवास खाली गराउन आग्रह गरिएको हो ।

यसैगरी, महानगरपालिकाले एक सार्वजनिक सूचना प्रकाशित गरी तोकेको समयभित्र सो क्षेत्रबाट नहटेमा प्रचलित कानुनबमोजिम हटाई सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने जनाएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार १३:१८