२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

प्रकाश ज्वालाई बर्खास्त गर्न अनेरास्ववियुको माग

५ फागुन, काठमाडौँ । अनेरास्ववियुले बालकुमारी घटनाका मुख्य दोषी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाई तत्काल बर्खास्त गर्न माग गरेको छ । शनिबार अनेरास्ववियुका अध्यक्ष समिक बडालले विज्ञप्ति निकालेर ज्वालाई बर्खास्त गर्न माग गरेका हुन । शुक्रबार मात्रै बालकुमारी घटनाको जाँचबुझ आयोगले प्रतिवेदन गृहमन्त्रीलाई हस्तान्तरण गर्दै प्रकाश ज्वालाकै कारण दुइ जना युवाको ज्यान गएको निष्कर्ष निकालेको थियो ।

अनेरास्ववियुले विज्ञप्ति मार्फत भनेको छ, ‘रोजगार अनुमति प्रणाली( EPS) मार्फत रोजगारीका लागि दक्षिण कोरिया जान चाहेका युवाहरुले मिति २०८० पौष १३ मा बालकुमारी ललितपुरमा गरेको आन्दोलनको क्रममा प्रहरी दमनबाट सुजन राउत र विरेन्द्र शाहको मृत्यु भएकोमा उक्त घटनाको सत्य तथ्य छानबिन गर्न उच्च अदालतका पूर्व न्यायधीश शेखर प्रसाद पौडेलको अध्यक्षतामा गठित जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनको निष्कर्ष अनुसार सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको कमजोरीको कारण घटना घटेकोेमा अबिलम्ब मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न तथा संलग्न जो कोही भए पनि आवश्यक कानुन बमोजिम कार्वाही प्रक्रिया अगाडी बढाउन सरकारका प्रधानमन्त्री समक्ष जोडदार माग गर्दछौँ ।’

अनेरास्ववियुले घटनाका दोषीलाई उन्मुक्ति दिने गरी प्रतिवेदनलाई मन्त्रालयको दराजमा मात्र नथन्काउन तथा यस प्रकारका घटनालाई गम्भिरतापुर्वक लिन गठबन्धन सरकारलाई चेतावनी समेत दिएको छ । अध्यक्ष बडालले जारी गरेको विज्ञप्तिमा दोषीहरू उपर कार्वाही नगरिए अनेरास्ववियु सरकारको दण्डहीनतालाई प्रश्रय दिने रवैया विरुद्ध कडा भन्दा कडा आन्दोलन गर्न वाध्य हुने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : February 17, 2024 at 3:22 pm