३० कार्तिक २०८१, शुक्रबार | Sat Nov 16 2024

नेदरल्यान्ड्सविरुद्ध नेपालको सानदार जीत

५ फागुन, काठमाडाैं । आईसीसी क्रिकेट विश्वकप लिग–२ एक दिवसीय शृङ्खलाअन्तर्गत दोस्रो खेलमा ​नेदरल्यान्ड्सविरुद्ध नेपालले सानदार जीत हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा १३८ रनको लक्ष्य नेपालले १५.२ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालका लागि अनिल शाह र आसिफ शेखले नटआउट अर्धशतक प्रहार गरे । कुशल भुर्तेलले २८ रन बनाएर आउट भएका थिए । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार बिहान नेपालले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको नेदरल्यान्ड्स ३९ ओभरमा १३७ रन बनाउँदा अलआउट भएको थियो ।

नेपालले जीतका लागि १३८ रनको सामान्य लक्ष्य पाएको थियो । नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ३३ रन जोडे । त्यस्तै, बास डे लीडेले २७ रन बनाए । सीब्राण्ड इंगेलब्रेच्टले २३ रन बनाए । अन्य ब्याटरले व्यक्तिगत १५ रन पनि कटाउन सकेनन् ।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४ तथा ललित राजवंशीले २ विकेट लिए । सोमपाल कामी र रोहितकुमार पौडेलले एक/एक विकेट लिए । नेदरल्याण्ड्सका २ जना रन आउट भए । लिग-२ को पहिलो खेलमा भने नेपाल नामिबियासँग पराजित भएको थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार १४:४७