१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

माओवादी विधान अधिवेशनः प्रचण्डलाई नै थ्रेट हुने गरी कार्यकालसम्बन्धी सुझाव

३ फागुन, काठमाडौँ । नेकपा९माओवादी (केन्द्र)को प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट विभिन्न सुझावहरू सङ्कलन भएका छन । पार्टी नाम र चुनाव चिन्ह फेर्ने सुझावसँगै कार्यकालसम्बन्धी पनि सुझाव पेश भएको छ । सिन्धुपाल्चोकका युवराज दुलालले नेतृत्व गरेको समूहले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष प्रचण्डलाई नै थ्रेट हुने गरी सुझाव दिएका छन ।

उनले चुनाव चिह्न फेर्नुपर्ने र जनवादी केन्द्रीयता मात्रै राख्नु राम्रो हुने सुझाव दिँदै समान पदमा २ कार्यकाल मात्र राख्ने व्यवस्था गर्नुपर्ने बताएका छन । उनको समूहको निष्कर्ष एकै व्यक्ति एकै पदमा दुइ कार्यकलभन्दा बढी बस्न नपाउने भन्ने छ । तीन दशकदेखि पार्टीको नेतृत्वमा एकछत्र राज गरिरहेका प्रचण्डका लागि थ्रेट हुने यस्तो सुझाव कार्यान्वयन हुनेमा त शंका नै देखिन्छ । यद्यपी नेता कार्यकर्ताले आँट गरेर विधानमै यस्तो व्यवस्था गर्न सुझाव दिएका हुन ।

दुलालले विचारको स्वतन्त्रता र कामकार्वाहीमा एकरूपता राख्न पनि सुझाव दिएका छन । मङ्गलबारदेखि काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरेर सुझाव संकलन गरिएको थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार १३:५७