२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

पत्रकार महासंघ प्रतिष्ठान समितिको कार्यक्रममा फोनिजको हस्तक्षेप, सभामुख र मन्त्री गएनन्

२८ माघ, काठमाडौँ । इतिहासको अपव्याख्या गरेको भन्दै नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)ले हस्तक्षेप गरेको छ । आइतबार समितिद्वारा प्रकाशित ‘अग्र अनुहार, कथा अग्रजको, गाथा महासंघको’ विमोचन कार्यक्रममा फोनिजले आपत्ति जनाउँदै कार्यक्रममा हस्तक्षेप गरेको हो ।

पत्रकार, पत्रकारिता र राजनीतिसँगै नेपाल पत्रकार संघदेखि महासंघसम्मका विषय समेटेर तयार पारिएको दाबी गरिएको  उक्त पुस्तकप्रति फोनिज र महिलाहरूले सार्वजनिक रूपमै असहमति जनाएका छन । फोनिजले महासंघका संस्थापक सत्यनारायणबहादुर श्रेष्ठ हुन भन्ने कुरा तथ्यबाट नै पुष्टि भैसकेपछि कृष्णप्रसाद भट्टरालाई संस्थापक सभापति भनेर इतिहासको अपव्याख्या गर्न नहुने फोनिजको ठहर छ ।

धेरै वर्षदेखि यस विषयमा पूर्व पत्रकार एवं वर्तमान प्रतिनिधिसभा सदस्य सूर्य थापाले लेख लेख्ने र बोल्ने गरी इतिहासको अपव्याख्या गर्न नहुने बताउँदै आएका थिए । पछिल्लो समय भने फोनिजले यसलाइ मुख्य एजेण्डा बनाएको छ । फोनिजले २००८ सालमा पत्रकार सत्यनारायणबहादुर श्रेष्ठले पत्रकारलाई सङ्गठित गर्दै संस्था स्थापना गरेको तर महासंघले श्रेष्ठपछिका कृष्णप्रसाद भट्टराई, जो २०१२ सालमा अध्यक्ष भएका थिए, उनलाई मात्र राखेर हिँडेको भन्दै आपत्ति जनाएको छ ।

कार्यक्रम विवादित हुने पुर्व सूचना पाएपछि सभामुख देवराज घिमिरे र सूचना तथा सञ्चारमन्त्री रेखा शर्मा सहभागी हुन गएनन् । सो कार्यक्रममा निम्तो पाएर पनि महासंघका पूर्व सभापति समेत रहेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्य पनि कार्यक्रममा सहभागी भएनन् ।

प्रकाशित मिति : २८ माघ २०८०, आईतवार २०:१७