२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

एमाले मेलम्चीबाट संकलित रकम स्वर्गीय नवीन पाण्डेको परिवारलाई हस्तान्तरण

२८ माघ, सिन्धुपाल्चोक । गत भाद्र ३० गते चौतारा साँगाचोकगढी-९ घुमाउनेमा सडक दुर्घटनामा परि मृत्यु भएका अनेरास्ववियु सिन्धुपाल्चोकका तत्कालीन सह–संयोजक नवीन पाण्डेको परिवार संरक्षणार्थ नेकपा एमाले मेलम्ची नगर कमिटीले सुरु गरेको आर्थिक संकलन अभियान बाट जम्मा भएको रकम परिवारलाई हस्तान्तरण गरेको छ ।

‘स्वर्गीय नवीन पाण्डे परिवार राहत तथा मृतक पाण्डेकी नाबालिग छोरी नेहारिका पाण्डेको शैक्षिक संरक्षण कोष’ स्थापना गर्दै नगर कमिटीले आर्थिक अभियान सञ्चालन गरेको थियो । सो अभियानबाट संकलित ५ लाख १५ हजार रुपैयाँ नाबालिका नेहारिकाकि आमा र हजुरआमा (स्वर्गीय नबिनकी आमा)को संयुक्त संरक्षकत्व रहने गरि नेहारिकाको शैक्षिक उन्नयनमा खर्चको लागी रकम हस्तान्तरण गरिएको छ ।

नेकपा एमालेका नेता केन्द्रिय अनुशासन आयोगका सदस्य डम्बर अर्यालले सो रकम हस्तान्तरण गरे । रकम हस्तान्तरणसँगै मेलम्ची नगर अध्यक्ष विजय श्रेष्ठले भने नविनको परिवारको संरक्षणका लागि आगामी दिनमा समेत सहयोग गर्ने कुरामा पार्टी सधैं साथमा रहेने बताए ।

स्वर्गीय पाण्डेको ६ वर्षीय छोरी निहारिका पाण्डेको शिक्षा दीक्षा र परिवारको आर्थिक स्थिती उकास्नका लागी सुरु गरिएको अभियानमा विभिन्न ब्यक्ति तथा संघ संस्थाहरु बाट सहयोग प्राप्त भएको नेकपा एमाले मेलम्ची नगर कमिटीका सचिव शालिकराम अधिकारीले जानकारी दिए । स्वर्गीय पाण्डेको आमा, श्रीमती र एक छोरी छन् ।

गत भदौं ३० गते चौतारा साँगाचोकगढी नगरपालिका–९ घुमाउने डाँडामा ट्याङ्करको ठक्करबाट पाण्डेको निधन भएको थियो । दुर्घटनामा परी मोटरसाइकल चालक पाँचपोखरी थाङ्पाल गाउँपालिका–१ बासखर्कका समिर तामाङ नवीन पाण्डेको मृत्यु भएको हो । मृतक दुवै जना अनेरास्ववियु सचिवालय बैठकका लागि बाह्रबिसे जाने क्रममा दुर्घटना भएको थियो ।

रकम हस्तान्तरण कार्यक्रममा नगर कमिटि अध्यक्ष विजयकृष्ण श्रेष्ठ,सचिव शालिकराम अधिकारी,नेकपा एमाले जिल्ला कमिटि सदस्य हिरा चौलागाईं लगायतको उपस्थिती रहेको थियो । तस्बिर : हिरा चौलागाईं ।

प्रकाशित मिति : २८ माघ २०८०, आईतवार ११:१४