२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

हराएका १७ वटा दुई पाङग्रे सवारीसाधन ट्राफिक प्रहरीद्वारा सम्बन्धित धनीलाई हस्तान्तरण

२६ माघ, काठमाडाैँ । विभिन्न मितिमा हराएका १७ ओटा दुईपाङग्रे सवारीसाधन खोजी गरी ट्राफिक प्रहरीले शुक्रबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच कार्यालयका प्रहरी उपरीक्षक सन्तोष आचार्यले १४ ओटा मोटरसाइकल र ३ ओटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा, केही वास्तविक नम्बर प्लेटमै र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यकाका बौद्ध, माछापोखरी, कालोपुल, बाफल, कालिमाटी, दरबारमार्ग, सिंहदरबार, नारायणटार, कपन, गहनापोखरी, बालाजु, बुढानिलकष्ठ, चुनदेवी, फर्पिङ र नयाँबसपार्क लगायतका स्थानमा दुईपाङग्रे सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्तग निवेदनको आधारमा खोजी गर्ने क्रममा फेला परेका २ सय ५२ ओटा सवारी साधन चालु आर्थिक वर्षको हाल सम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ । अवैध रुपमा नेपाल भित्रिएका १२ ओटा सवारी साधन भन्सार कार्यालयमा बुझाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।

चालु आर्थिक वर्षको हालसम्म चोरीका २० ओटा २ पाङ्ग्रे सवारी साधनसहित चोरीमा संलग्न २४ जना व्यक्तिलाई कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार १७:३५