वैदेशिक रोगारीका नाममा पाँच लाख ठगी गर्ने एक जना पक्राउ
२६ माघ, काठमाडौँ । वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै रु पाँच लाख रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउपर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका–१४ घर भई हाल जिल्ला काठमाडौँ महानगरपालिका–३२ शान्तीनगर बस्ने वीरेन्द्रप्रसाद पटेलको छोरा २५ वर्षीय धीरज पटेल रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले राससलाई जानकारी दिए ।
उनले भने, “पक्राउ परेका पटेलले विवेक यादवलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै पीडितबाट पटकपटक गरी रु पाँच लाख लिइ सम्पर्कविहीन भई ठगी गरेकाले बिहीबार बबरमहलबाट पक्राउ गरी आज सार्वजनिक गरेका हौँ ।”
पक्राउ परेका पटेलमाथि थप अनुसन्धान तथा कारबाहीको लागि आजै वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए ।
प्रकाशित मिति : February 9, 2024 at 4:39 pm









