२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

पूर्वमन्त्री तथा कांग्रेस केन्दीय सदस्य बुढाथोकीको निधन

२३ माघ, झापा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा निधन भएको छ । अर्जुनधारा नगरपालिका–८ निवासी बुढाथोकी कांग्रेस पार्टीमा जुझारु, जनपक्षीय र साझा नेताका रूपमा परिचित थिए । उनकी पत्नी गीता बुढाथोकी, दुई छोरा आनन्द र शिशिर एवं दुई छोरी ममता र कविता बुढाथोकी छन् ।

कांग्रेस झापाका सचिव कृष्ण हुमागाईँका अनुसार लामो समयदेखि ‘प्रोस्टेट क्यान्सर’को उपचार गराइरहेका उनको गत राति ११ः३० बजे उपचारकै क्रममा विराटनगरको विराट मेडिकल कलेजमा निधन भएको हो ।

तत्कालीन पञ्चायतकालमै विसं २०४३ मा जनपक्षीय उम्मेदवार बनेर उनी राष्ट्रिय पञ्चायतको सदस्य निर्वाचित भएका थिए । यसपछि उनी जलस्रोत राज्यमन्त्री बनेका थिए । उनी विसं २०६४ मा कांग्रेसका तर्फबाट झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए भने विसंं २०७० मा संविधानसभा सदस्य निर्वाचित भएका थिए ।

नेपाली कांग्रेसको सरकार गठन हुँदा उनी सामान्य प्रशासनमन्त्री नियुक्त भएका थिए । जनतामाझ उनी निडर र स्पष्ट वक्ता भनेर चिनिन्थेँ । तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाह र भुटानका तत्कालीन राजा जिग्मे सिग्मे वाङचुकसँगै दार्जिलिङको सेन्ट जोसेफ कलेजमा अध्ययन गरेका नेता बुढाथोकी पाँच दशकदेखि राजनीतिमा सक्रिय थिए। विसं २०२४ मा विद्यार्थी आन्दोलनमार्फत राजनीतिमा प्रवेश गरेका उनी पञ्चायतविरुद्धको आन्दोलनका क्रममा नौ महिना जेल पनि परेका थिए ।

पञ्चायतकालमा झापा जिल्ला पञ्चायतको सभापति र युवक सङ्गठनको सभापतिसमेत बनेका उनी केही समय पञ्चायतको समर्थक र बहुदलीय प्रजातन्त्रकालमा केही समय राष्ट्रिय प्रजातन्त्र पार्टीमा समेत सक्रिय बनेका थिए ।

विगत दुई सातादेखि उहाँलाई प्रोस्टेटको समस्या जटिल भएपछि विराटनगरमा उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । पार्टीभित्र आफ्ना विचार निडर भएर राख्ने र झापाको विकास निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका उनको निधनले कांग्रेसलाई ठूलो क्षति पुगेको पार्टीका जिल्ला सचिव हुमागाईँले बताए । उनको पार्थिव शरीर आज झापा ल्याइने र शवयात्रासहित कनकाई नदीमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलवार ०९:१४