२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

नेपाल टेलिकमको २० औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

२२ माघ, काठमाडौँ । नेपाल टेलिकम २१ औं वर्षमा प्रवेश गरेको छ । टेलिकमले आफ्नो स्थापनाको २०औं वार्षिकोत्सव कार्यक्रम आज सम्पन्न गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयका साथै विभिन्न प्रादेशिक निर्देशनालय र कार्यालयहरुमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

टेलिकमले वार्षिकोत्सवको अवसर पारेर सबै सरकारी तथा सामुदायिक विद्यालयमा द्रुत गतिको फाइबर इन्टरनेट फाइबर टु दि होम (एमटीटीएच) तथा नमस्ते वाइफाई सेवा दिने भएको छ । टेलिकमका प्रवन्ध निर्देशक संगिता पहाडीले भूकम्प प्रभावित क्षेत्रका लागि विभिन्न सहुलियत प्रदान गरेको बताउदै अब थप प्रभावकारी रुपमा कम्पनीको सेवा दिने बताइन् ।

प्रबन्ध निर्देशक पहाडीले आगामी दिनमा विभिन्न सामुदायिक विद्यालयहरूमा आईसीटी ल्याबको स्थापना गरिने, सरकारी तथा सामुदायिक विद्यालयहरुमा एफटीटीएच डाटा तथा नमस्ते वाईफाई उपलब्ध गराइने र वीर अस्पताल लगायत सामुदायिक अस्पतालहरुमा कुरुवाहरुको लागि बेडकम चियर उपलब्ध गराउने  कार्यक्रम रहेको बताइन् ।

कम्पनीको २१औं वार्षिकोत्सवको अवसरमा कम्पनीका कर्मचारी ग्राहकवर्गको घरदैलामै पुगेर टेलिकमका सेवा प्रदान गर्ने गरी माघ २१ गते दूरसन्चार कार्यालय, सुन्धाराबाट नेपाल टेलिकम अन ह्विल कार्यक्रम शुभारम्भ गरेको छ । यसलाई देशभर विस्तार गर्ने क्रममा रहेको टेलिकमको भनाइ छ ।

हाल सञ्चालनमा रहेको च्याटबक्सलाई स्तरोन्नति गरी एआई प्रविधिको लार्ज ल्याङ्वेज मोडल (एलएलएम)मा आधारित च्याटबक्सको सफ्ट लन्च गर्ने कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार १८:१०