२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

मेलम्ची पानी नियमित आपूर्तिका लागि रास्वपाले दबाब कार्यक्रम गर्ने

१९ माघ, काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मेलम्ची खानेपानी आयोजनाबाट राजधानीमा नियमित पानी आपूर्तिको माग गर्दै दबाबमूलक कार्यक्रम गर्ने भएको छ । रास्वपा संसदीय दलको आजको बैठकले यही माघ २१ गते मेलम्ची बजारदेखि दबाबमूलक कार्यक्रम सुरु गर्ने निर्णय गरेको हो ।

सो पार्टीका सचेतक निशा डाँगीले दबाबमुलक कार्यक्रम अनुसार मेलम्ची बजारबाट आयोजनास्थल पुगी घैलामा पानी बोकेर ल्याउने निर्णय भएको बताइन् । “दबाब कार्यक्रम अनुसार मेलम्ची बजारमा २१ जना सांसद सबै भेला भएर खाली घैलो लिएर आयोजनास्थल जाने र पानी भरेर फर्किने कार्यक्रम तय भएको छ”, सचेतक डाँगीले भनिन् ।

रास्वपाले हालै पूर्वाधारका अलपत्र रहेका आयोजनाको दबाब यात्रा गर्ने निर्णय गरेको छ । जसअनुसार पार्टीले यही माघ २१ गतेदेखि चैत २१ गतेसम्म दुई महिने दबाबमुलक कार्यक्रम गर्दैछ ।

सो पार्टीका सांसद बिनिता कठायतले सदन र संसदीय समितिको बैठक प्रभावित नहुने गरी पार्टीले सो कार्यक्रम गर्ने बताइन् । सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको बैठकमा गैरसरकारी विधेयकको तयारीबारे समेत छलफल भएको थियो । सचेतक डाँगीका अनुसार पूर्वनिधारित मुद्दाअनुसार आगामी अधिवेशनमा पार्टीले उठाउने मुद्दा, अधिवेशनको तयारी र पार्टीका सासदलाई विधेयकसम्बन्धी गरेको तयारीका विषयमा पनि आजको बैठकमा छलफल भएको थियो ।

“गैरसरकारी विधेयक दर्ता गर्नुमात्र ठूलो कुरा होइन, त्यसलाई पास हुने गरी काम गर्ने विषयमा छलफल भयो । मुख्यत पाँच गैरसरकारी विधेयकको तयारी गरिरहेका छौँ, त्यसबारे छिट्टै सार्वजनिक गर्नेछौ ।”

प्रकाशित मिति : February 2, 2024 at 5:24 pm