७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

सुन चोरी गर्ने नुवाकोटका ज्ञानबहादुरसहित चार जना पक्राउ

२४ पुस, काठमाडाैं । सुनका गहना चोरी गर्ने नुवाकोटका ज्ञानबहादुर विश्वकर्मासहित चार जनालाई प्रहरीले पक्राउ गरेकाे छ । प्रहरीले ललितपुर महानगरपालिका वडा नं. १२ मंगलबजारस्थित रामबहादुर नेपालीको घरमा चोरी गर्ने चार जनालाई पक्राउ गरेको हाे ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता सूचना अधिकारी प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार नेपालीको घरमा कोही नभएको मौका पारी ढोका फोडी विभिन्न अन्दाजी चार तोला ८० लाल सुनका गहना चोरी गरेका थिए ।

नुवाकोट घर भई क्षेत्रपाटी बस्ने ४१ वर्षीय ज्ञानबहादुर विश्वकर्मा, काठमाडौँका ३० वर्षीय राजकुमार विश्वकर्मा, स्थायी घर झापा भई हाल ललितपुर बस्ने २० वर्षीय सन्देश नेपाली र पोखरा घर भई काठमाडौँ बस्ने २६ वर्षीय अनीश पौडेललाई अपराध अनुसन्धान शाखा ललितपुरले पक्राउ गरेको हाे । प्रहरीले एक लाख ३४ हजार तीन सय रूपैयाँसहित उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी परिसर ललितपुर पठाइएको अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : January 9, 2024 at 3:03 pm