२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

बचतकर्ताको १२ करोड ३५ लाख हिनामिना गर्ने रियल गोर्खा सहकारीका अध्यक्ष पक्राउ


२४ पुस, काठमाडौं । बचतकर्ताको १२ करोड ३५ लाख हिनामिना गरी फरार भएका रियल गोर्खा बचत तथा ऋण सहकारीका अध्यक्ष पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बचतकर्ताको जाहेरीका आधारमा संस्थाका अध्यक्ष हर्कबहादुर कठायत र सदस्य विनोदकुमार ओझालाई पक्राउ गरेको हो । डोटीको शिखर नगरपालिकाका ३१ वर्षीय कठायत र काभ्रेको धुलिखेल नगरपालिकाका ३५ वर्षिय ओझालाई सोमबार पक्राउ गरी थप अनुसन्धान भइरहेको सिआइबीले जानकारी दिएको छ।

काठमाडौंको तीनकुनेमा केन्द्रीय कार्यालय स्थापना गरी जोरपाटी र भक्तपुरबाट बचतकर्ताको रकम संकलन गर्दै आएको रियल गोर्खाका अध्यक्षसहितका सञ्चालक करिब १२ करोड ३५ लाख ४८ हजार दुई सय रुपैयाँ  रकम हिनामिना गरी फरार भएका थिए ।

बचतकर्तालाई आकर्षक ब्याजदर दिन्छु भनी प्रलोभन देखाई सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, सेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई मासिक, त्रैमासिक र वार्षिक रुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वासका रकम संकलन गरेका बचतकर्ताले अध्यक्षसहितका सञ्चालक फरार भएपछि प्रहरीमा उजुरी दिएका थिए ।

बचतकर्ताहरुले आफूले जम्मा गरेको साँवा, ब्याज पटक–पटक फिर्ता माग्दा नदिएकोले आफ्नो निक्षेप जोखिममा रहेको ठानी रकम उपलब्ध गराइदिन आवश्यक पहल गर्न बचतकर्ताहरूले उजुरी दिएका थिए । सहकारीबाट पीडित बचतकर्ताहरुलाई यथाशीघ्र सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २४ पुष २०८०, मंगलवार ११:२४