१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

एमालेको उपत्यका विशेष प्रदेश कमिटीमा थपिए १२ सदस्य, सचिवालय र सल्लाहकार परिषद् गठन

२१ पुस, काठमाडौँ । नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीमा १२ जना सदस्य थपिएका छन । एमालेको विधान अनुसार प्रदेश कमिटीको पहिलो बैठकले सदस्यहरू मनोनित गरेको सचिव मिलन धरेलले दैनिकीलाई जानकारी दिए । धरेलका अनुसार मनोनित हुनेहरूमा एकराज लकाम्री, कृष्णकुमार अर्याल, कृष्णकुमार फूयाँल, डी अर्याल, गम्भीर तण्डुकार, झलक गौतम, खिम पन्थी, प्रकाशकुमार श्रेष्ठ, धर्मकुमार श्रेष्ठ, दिपेन्द्र भण्डारी, कविन्द्रशेखर रिमाल रहेका छन ।

पार्टीका पोलिटव्यूरो सदस्य तथा उपत्यका विशेष प्रदेश कमिटी इन्चार्ज सुजिता शाक्यको प्रमुख आतिथ्य र विशेष प्रदेश कमिटी अध्यक्ष प्रेमकुमार पराजुलीको अध्यक्षतामा पुस २०मा प्रदेश कमिटीको बैठक बसेको थियो । बैठकले पदाधिकारी, विभाग प्रमुख र जिल्ला इन्चार्जसमेत गरी १७ सदस्यीय सचिवालय र सल्लाहकार परिषद् पनि गठन गरेको छ ।

त्यसैगरी बैठकले बार्षिक कार्ययोजना पारित गरेको छ भने प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरूको कार्य विभाजन गरेको छ । यस क्रममा नौवटा विभाग गठन गर्नुका साथै एउटा कार्यदल बनाएको छ । बार्षिक कार्ययोजना अन्तर्गत जिल्ला कमिटी र इलाका कमिटीका अधिवेशनहरू सम्पन्न गर्ने, प्रदेश र इलाका स्तरमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, मासिकरूपमा अन्तर्क्रिया आयोजना गर्ने लगायत रहेका छन् ।

बैठकले विभिन्न समसामयिक प्रस्तावहरू पारित गर्दै निजामती सेवा ऐन तत्काल जारी गर्न माग गरेको छ भने ललितपुरको बालकुमारीमा दुई युवकको ज्यान जाने गरी राज्य पक्षबाट भएको गोली प्रहारको निन्दा र भर्त्सना गरेको छ । बैठकले राज्यलाई हानि नोक्शानी पुर्याउने गरी भएको भनिएको एनसेल विक्री प्रकरणको पनि विरोध जनाएको छ ।

 

प्रकाशित मिति : २१ पुष २०८०, शनिबार १८:५५