६ जेष्ठ २०८३, बुधबार | Thu May 21 2026

१९ लाख ६० हजार ठगी गर्ने मार्स मेनपावरका सञ्चालक जयराम पक्राउ

१७ पुस, काठमाडौँ । आकर्षक तलबसहित वैदेशिक रोजगारीका लागि युरोपमा पठाइदिने जनाउँदै रु १९ लाख ६० हजार ठगी गरेको अभियोगमा प्रहरीले मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मार्स नामक मेनपावरका सञ्चालक काभ्रेको पनौती नगरपालिका–१ का ४१ वर्षीय जयराम पौडेल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले राससलाई जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका पौडेलले पदमकुमारी श्रेष्ठसहित दुई जनालाई वैदेशिक रोजगारीको लागि युरोप पठाइदिने र त्यसको लागि रु बीस लाख लाग्ने प्रलोभन देखाएका थिए । पक्राउ परेका पौडेले युरोप पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाई रु तीन लाख भन्दा धेरै तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटक–पटक गरी जम्मा रु १९ लाख ६० हजार ठगी गरेको जनाइएको छ ।

पक्राउ परेका पौडेललाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए। आकर्षक तलबमा विदेश पठाइदिन्छु भनेकै भरमा कसैलाई पनि रकम नदिन पनि प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति : January 2, 2024 at 1:11 pm