२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

बालकुमारी हत्या प्रकरणः डिएसपी लम्साल निलम्बित, ललितपुर प्रमुख हेडक्वार्टर तानिए


१४ पुस, काठमाडाैँ । सरकारले बालकुमारी हत्या प्रकरणमा नेपाल प्रहरीका तर्फबाट शुक्रबारको प्रदर्शन हेर्न खटिएका अप्रेसन इन्चार्ज डिएसपी उमेश लम्साललाई निलम्बन गर्ने निर्णय गरेको छ । साथै सोही प्रकरणमा भाैतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाका पिएसओ प्रहरी नायब निरीक्षक (सई) बोधराज दनुवार निलम्बन गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्रीलाई शुक्रबारको घटनाबिबरण ब्रिफिङ पश्चात सोही बैठकले उनीहरूलाइ निलम्बन गर्ने निर्णय गरेको हो । सोही बैठकले जिल्ला प्रहरी कार्यालय ललितपुरका एसएसपी शिद्दिबिक्रम शाहलाइ प्रहरी प्रधान कार्यालय नक्साल तानिएको छ ।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित बसेको सुरक्षा अधिकारीहरूको बैठकमा उनीहरुलाई निलम्बन गर्ने विषयमा गम्भीर छलफल भएको थियो । यद्यपी नेपाल प्रहरीका प्रवक्ता कुबेर कठायतले अहिलेसम्म कसैलाइ पनि निलम्बन गर्ने निर्णय नएभको बताएका छन । प्रदर्शन नियन्त्रणको नाममा प्रहरीले गोली चलाउने र कुटपिट गर्ने गर्दा वीरेन्द्र शाह र सुजन राउतको निधन भएको थियो । यद्यपी सरकारबाहेकका सबै पक्षले यसलाइ हत्या भनेर व्याख्या गरेका छन ।

एसपी शाह यसअघि राैतहट प्रहरी प्रमुख हुँदा लागुऔषध मुद्दामा पत्रकार फसाएको आरोप लागेपछि काठमाडौं झिकाइएका थिइन । उनी माथि पाँच सदस्यीय छानबिन समितिले अनुसन्धान गरी कारबाही गरेको थियो ।

यस्तै डिएसपी लम्साल यसअघि महाराजगञ्ज प्रमुख हुँदा मध्यरातमा सडकको बीचमा डाक्टर कुटेर पनि निलम्बित भएका थिए । त्रिवि शिक्षण अस्पताल महाराजगन्ज र कान्ति बाल अस्पतालका डाक्टर कुटपिट प्रकरणपछि महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख लम्साल महानगरीय प्रहरी कार्यालय रानीपोखरी तानिएर निलम्बित भएका थिए ।

प्रकाशित मिति : १४ पुष २०८०, शनिबार १४:१५