२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

शीप बिल्डिङ जान परीक्षा दिएका सबैलाई ईपीएस परीक्षामा सामेल गराउन अदालतको आदेश

१३ पुस, काठमाडाैं ।  उच्च अदालत पाटनले ‘शीप बिल्डिङ’ मा आवेदन दिएका सबैलाई ईपीएस परीक्षामा सामेल गराउन आदेश दिएको छ ।उच्च अदालत पाटनका न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले शुक्रबार आन्दोलनरत सबैलाई परीक्षामा सहभागी गराउन आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ,‘…निवेदकहरू लगायत निवेदक सरहका समान प्रकृतिका इच्छुक व्यक्तिहरूलाई उल्लेखित मिति २०८०।८।१९ को सूचना बमोजिम मिति २०८०।९।२ बाट खुल्ला गरिएको आवेदन फारम भर्न रोक नलगाउनु र परीक्षा आवेदन फाराम भर्न दिनु दिलाउनु भनी विपक्षीहरूको नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२(१) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ । प्रस्तुत आदेशको जनाउ विपक्षीहरूलाई दिई नियमानुसार गर्नू ।’

काेरिया जानका लागि लिइने रोजगारी अनुमति प्रणाली(इपिएस)को परीक्षा दिन नपाएको भन्दै युवाहरुले आज प्रदर्शन गरेका थिए । सो क्रममा आन्दोलनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी गरेका थिए । त्यसपछि भएको झडपका क्रममा दुइ जनाकाे  मृत्यु भएको थियाे ।

प्रकाशित मिति : १३ पुष २०८०, शुक्रबार १६:२७