१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

यस वर्ष पर्सामा धान उत्पादन घट्यो

६ पुस, वीरगञ्ज (पर्सा) । पर्सा जिल्लामा यस वर्ष धान उत्पादन घटेको छ । ढिलो गरी धानबाली लगाउनु, औसतभन्दा कम वर्षा हुनु, धानबालीमा गवाँरो कीराको सङ्क्रमण हुनुलगायत कारणले गत वर्षको तुलनामा यस वर्ष उत्पादनमा ह्रास आएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ ।

पर्सामा कूल धान रोपाइँ हुने खेतीयोग्य जग्गामध्ये आव २०७९/८० मा ९५ प्रतिशतअर्थात् ४५ हजार चार सय ३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको केन्द्रका प्रमुख मुनिलाल कुशवाहाले जानकारी दिए। उनका अनुसार प्रतिहेक्टर चार दशमलव एक मेट्रिक टनका दरले एक लाख ८६ हजार दुई सय ६३ मेट्रिक टन धान उत्पादन भएको छ ।

आव २०७८/७९ मा ४५ हजार चार सय ६० हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकामा प्रतिहेक्टर चार दशमलव चार मेट्रिक टनका दरले दुई लाख २४ मेट्रिक टन धान उत्पादन भएको थियो । पर्सामा ५४ हजार सात सय ३२ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४७ हजार एक सय ३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको कुशवाहाले बताए । उनका अनुसार जिल्लामा भदैया, चैते र वर्षे गरी तीन किसिमका धान उत्पादन हुँदै आएका छन् ।

धान रोपाइँ समयमा नहुनु, वर्षा नहुनु, सिँचाइ तथा मल अभाव, रोगको सङ्क्रमणलगायत कारणले उत्पादन घटेको प्रमुख कुशवाहाको भनाइ थियो ।

प्रकाशित मिति : December 22, 2023 at 4:27 pm