१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

मध्यपहाडी लोकमार्ग म पहिलोपटक प्रधानमन्त्री हुँदा सुरू गरिएको होः प्रधानमन्त्री प्रचण्ड

५ पुस, काठमाडौँ । प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा सुरू गरिएको बताएका छन । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सहरी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको संयुक्त छलफल कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्री प्रचण्डले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा मध्यपहाडी लोकमार्ग सुरू गरेको बताएका हुन ।

प्रधानमन्त्रीले हुलाकी राजमार्गको भिजन पनि माओवादीकै भएको बताएका छन । उनले भनेका छन, ‘मध्यपहाडी लोकमार्ग म पहिलोपटक प्रधानमन्त्री हुँदा नै सुरू गरिएको थियो। हुलाकी राजमार्ग पनि हामीले नै अगाडि बढाएका थियौं। उत्तर–दक्षिण करिडोर पनि विकासको हाम्रो भिजन हो। देशको अवस्था जस्तो छ, भौगोलिक बनोट जस्तो छ, आर्थिक चरित्र जसरी विकसित भइरहेको छ, विकासको मोडेल पनि त्यस्तै बनाउनुपर्छ ।’

उनले सहरीकरण बारे आफ्नो धारणा राख्दै भने, ‘सहरीकरणको कुरा गर्दा सहरी सौन्दर्यलाई पनि सँगसँगै लैजानुपर्छ । हाम्रो विकास भौगोलिक बनोटअनुसार हुनुपर्छ भनेर मैले भन्दै आएको छु। हामीले पूर्वपश्चिम र उत्तर–दक्षिण दुबैतर्फ जोड्ने विकास हाम्रो आवश्यकता हो। हामीले यसरी नै सोच्नुपर्छ।’

उनले बैठकमा प्रधानमन्त्रीले भने, “काठमाडौंभित्र व्यवस्थित नमुना सहर बनाएर जानुपर्छ। मेरो दोस्रो कार्यकालमा स्मार्टसिटीको अवधारणा यही सोचका साथ अगाडि सारिएको थियो। यसले हरेक प्रदेशमा एक स्मार्टसिटी बन्छ भन्ने हाम्रो सोच थियो। हामीले योजनावद्ध सहरको विकास गर्नुपर्छ। त्यसलाई हामीले स्मार्टसिटीको नाम दिएका छौं। यो दीर्घकालीन रणनीति हो, गम्भीरतापूर्वक सोचेर यसको कार्यान्वयनमा जानुपर्छ।”

छलफलमा सहरी विकासमन्त्री सीता गुरूङले आयोजनाको संख्या र बजेटको सीमितताका बीच काम गर्नुपर्ने अवस्था रहेको बताउँदै व्यवस्थित सहर बनाउने परियोजनालाई पनि राष्ट्रिय गौरवका आयोजनामा समावेश गरेर काम अगाडि बढाउनुपर्ने बताउनुभयो। उहाँले एक वर्षको अवधिमा निजी आवास निर्माणतर्फ मन्त्रालय राम्रो प्रगति गरेको बताउँदै भूकम्पबाट भत्किएका निजी घरहरू निर्माणमा केन्द्रित हुने बताइन ।

त्यस्तै वन तथा वातावरण मन्त्री वीरेन्द्र महतोले रूख कटानको कानुनी प्रक्रिया लामो हुँदा विकास आयोजनाको काम प्रभावित भएको, काठ निर्यातको भन्सार नीति वैज्ञानिक नभएको बताउँदै मन्त्रालय त्यसको समाधानमा केन्द्रित भएको बताए । बैठकमा नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्यालले वनले प्रकृति संरक्षणमा मात्र जोड दिने र विकासे मन्त्रालयले विकासको मात्र कुरा गर्दा विकास नीति असन्तुलित हुने बताउँदै वन र विकासलाई एकअर्काका सहयोगी अंगको रूपमा अगाडि लैजानुपर्ने  बताए ।

प्रकाशित मिति : ५ पुष २०८०, बिहीबार १३:२१