१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहको भूमिका जवाफदेही हुनुपर्छः प्रधानमन्त्री

२ पुस, ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको भूमिका जवाफदेही, पारदर्शी र नागरिकमैत्री हुनुपर्ने बताउनुभएको छ । आज ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहका क्षेत्रमा महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको बताउँदै नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहको भूमिका जवाफदेही पारदर्शी र नागरिकमैत्री हुनुपर्छ भन्नुभएको हो ।

“नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहको भूमिका जवाफदेही पारदर्शी र नागरिकमैत्री हुनुपर्छ, समग्र स्थानीय सरकारको विश्लेषण गर्दा त्यो जिम्मेवारी जवाफदेही पूरा गर्न सफल भएकामा ललितपुर महानगरपालिकाका जनप्रतिनिधिसमेत सम्पूर्ण परिवारमा धन्यवाद ज्ञापन गर्दछु”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।

उहाँले ललितपुर महानगरपालिकाले मूर्त र अमूर्त सम्पदा संरक्षणमा लिएको चासो र गरेको चिन्तन प्रशंसनीय रहेको धारणा राख्दै उहाँले महानगरभित्र निर्माण भइरहेका देवालय, शिवालय यसका ज्वलन्त उदाहरण भएको बताउनुभयो ।

प्रधानमन्त्रीले संस्कृतिलाई आयआर्जनसँग जोड्ने काममा विशेष ध्यान दिनु जरुरी छ भन्दै पर्यटन प्रवद्र्धनमा ललितपुर महानगरको अग्रणी भूमिका रहेको बताउनुभयो । उहाँले विकास निर्माण र सेवा प्रवाहका सन्दर्भमा महानगर विवादरहित ढङ्गले बढिरहेकामा खुसी व्यक्त गर्नुभयो ।

सङ्घीयता भनेको सङ्घ मात्रै होइन, सङ्घसँगै प्रदेश र स्थानीय तह पनि हो भन्दै प्रधानमन्त्री दाहालले सङ्घीय निजामती ऐन ल्याएर प्रदेश र स्थानीय तहलाई बलियो बनाउन आफू लागिपर्ने जानकारी गराउनुभयो । विसं १९७५ पुस २ गते सरसफाइ अड्डाका नामबाट स्थापित सरकारी कार्यालय पछि नगरपालिका र उपमहानगरपालिका हुँदै विसं २०७३ चैत १० गते ललितपुर महानगरपालिकामा परिणत भएको थियो । रासस

प्रकाशित मिति : २ पुष २०८०, सोमबार १५:३७